माया प्रेमले आत्महत्या बढ्दो



नेपाल समाचारपत्र, दार्चुला । दार्चुला जिल्लामा पछिल्लो समय बढ्दै गएको आत्महत्याको एउटा कारण माया प्रेम पनि भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सोमबार आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्ष २०७५÷०७६ मा भए गरेका काम कारबाहीक बारे जानकारी गराउने क्रममा प्रहरी नायव उपरिक्षक शाहीले बढ्दो आत्महत्याको कारणमा माया प्रेम भएको बताउनु भएको हो । यस वर्ष दार्चुलामा १८ जनाले झुण्डिएर आत्महत्या गरेको प्रहरी संग तथ्याङ्क छ । झुण्डिएर आत्महत्या गर्नेहरुमा १८ देखी २५ वर्ष उमेर समुहका रहेको प्रहरी नायव उपरिक्षक शाहीले बताउनु भयो ।

‘माया प्रेम, गाउँमा बदनामी, डिप्रेशन, दिर्घरोग भएर आवेगमा आएर आत्महत्या गरेको अनुसन्धानमा देखिन्छ प्रहरी नायव उपरिक्षक शाहीले भन्नुभयो ।’ जिल्लामा यस वर्ष दर्ता भएका घट्नाहरु मध्ये २१ प्रतिशत आत्महत्याका घट्ना दर्ता भएको उहाको भनाई छ । दार्चुलामा गत आर्थिक २०७५÷०७६ मा ८७ घट्ना दर्ता भएका छन् । जिल्लामा सबै भन्दा बढी वैशाख, जेठ र असारमा घट्नाहरु घटेको प्रहरी नायव उपरिक्षक शाहीले बताउनु भयो । जिल्लामा यस वर्ष भवितव्य ज्यानका १६, जवरजस्ती करणीका ५, महिला हिंसाका ७८ घट्नाहरु दर्ता भएका छन् ।

जिल्लाको शैल्यशिखर, महाकाली नगरपालिका, ब्याँस र लेकम गाउँपालिकामा सबै भन्दा बढी आत्महत्याका घट्नाहरु घट्ने गरेको प्रहरीको तथ्याङ्क छ । जवरजस्ती करणीका घट्नाहरुमा १८ वर्ष मुनीका ४ र १८ देखी २५ वर्ष उमेर समुहमा १ घट्ना घटेको प्रहरी नायव उपरिक्षक शाहीले बताउनु भयो । जवरजस्ती करणीका घट्नाको कारण उमेर नपुगी बिहे गर्नु, भागेर बिहे गर्नु रहेको उहाले बताउनु भयो । जिल्लाको महाकाली नगरपालिकाको वडा नम्बर ४ र ५ मालिकार्जून गाउँपालिकाको पनेबाज क्षेत्र, दुहुँ गाउँपालिकाको हिकिला र ब्रहमदेव, मार्माको लटिनाथ, ब्याँसको सुन्सेरा र अपिहिमालको खण्डेश्वरी क्षेत्रमा जघण्य अपराधका घट्नाहरु घट्ने गरेको प्रहरीले जनाएको छ ।

यस वर्ष दार्चुलामा विभिन्न कारणबाट ७३ जनाको मृत्यु भएको छ । प्रहरीले २४ जना लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएर परामर्श दिएको छ । लागु औषधहरुमा गाजा, चरेस, करेक्स र ट्याब्लेट प्रयोग गर्ने गरेको उहाले बताउनु भयो । महिला हिंसा अन्र्तगत घरेलु हिंसा, महिला भएकै कारण भएका हिंसा, घर परिवारबाट कुटपिट, मदिरा सेवन रहेको छन् ।

यार्सा संकलनको क्रममा यस वर्ष भिरबाट लडेर ५ जनाको मृत्यु भएको छ, भने १२ जना घाइते भएका छन् । १ हजार ४ सय ७३ सवारी कारबाहीबाट १० लाख ८८ हजार राजश्व संकलन गरिएको छ । ट्राफिक प्रहरीले ३६ बस, २ सय २३ ट्रक, ८ सय ३८ जिप, २ सय ८ मोटरसाइकल र ४ वटा जेसिवीलाई कारबाही गरेको छ । जिल्लामा विभिन्न कारणबाट घटेका घट्नाहरुबाट ३ करोड २५ लाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्