घरमूली बाढीमा बेपत्ता, १२ जनाको परिवारको बिचल्ली



सरोज यादव, विराटनगर ।
बाढीको क्रममा मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा डुबेर बेपत्ता भएका स्थानीय शोभा सोरेनको अवस्था अझै अज्ञात छ । एक साताभन्दा बढी समय बितिसक्दा पनि उहाँको अवस्था जान्न नपाएका परिवारका सदस्य विक्षिप्त भएका छन ।

असार अन्तिम साता आएको बाढीको क्रममा घरनजिकैको लोहन्द्रा खोलामा डुबेर बेपत्ता कटहरी–४ की शोभा सोरेनको अवस्था अझै अज्ञात छ । खोलाको पारीपट्टि रहेको खेतमा सब्जी टिप्न जाने क्रममा उनी असार २८ गते शनिबार खोलामा डुबेर भएका हुन् । सोरेन पौडी खेल्न जान्ने भए पनि बाढीको क्रममा खोलामा बगेर आएको जंगलझारमा अल्झिएका कारण डुबेको प्रत्यक्षदर्शी तारादेवी सिंहले जानकारी दिनुभयो ।

स्थानीय थानगाछी किनारबाट खोलामा पसेका सोरेन ३ सय मिटर दक्षिणसम्म बगेर गएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । सोरेन डुबेयता स्थानीय र प्रहरी प्रशासनले लगातार एकसातासम्म खोज्दा पनि फेला पार्न सकेका छैनन् । ६० वर्षीय सोरेन डुबेर बेपत्ता भएपछि उहाँको घरमा शोक छाएको छ ।
१२ जनाको परिवारका मुख्य व्यक्ति डुबेर बेपत्ता भएपछि सिंगो परिवारलाई खानपिनमा समस्या भएको छ । डेढ बिघा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका सोरेन स्थानीय एक औषधि उद्योगमा मालीका रुपमा समेत काम गर्दै आएका थिए । घटनापछि शोकमा डुबेका कारण परिवारका अन्य सदस्यसमेत मजदुरी गर्न जान नसकेको बेपत्ता सोरेनका श्रीमती डिल्ली सोरेनले बताउनुभयो ।

घरका मुख्य व्यक्ति डुबेर मानवीय क्षति ब्यहोरेका परिवारले सरकारी पक्षबाट अहिलेसम्म कुनै प्रकारको राहत पाउन सकेका छैनन् । पीडित परिवारको अवस्थालाई मध्येनजर गरेर कटहरी–४ का वडाध्यक्ष मन्टु शेखले भने ५ हजार १ सय नगद आर्थिक सहयोग गर्दै आफूले पाउने सेवासुविधाबापतको एक महिनाको भत्तासमेत प्रदान गर्ने वचन दिएको पारिवारिक स्रोतले जनाएको छ । डुबेर बेपत्ता भएका आफ्ना अभिभावक जिउँदै भेटिने बिषयमा पीडित परिवारले आश मारिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्