सिंगापुर र मलेसियाको जित, नेपालले आज खेल्दै



काठमाडौं, (नेस) ।
आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटअन्तर्गत पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले जित हात पारेका छन् ।

सोमबार भएका खेलमा सिंगापुरले कतारलाई ३३ रनले हराउँदा मलेसियाले कुवेतलाई ४२ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८६ रनको बलियो योगफल बनाएको थियो । टोलीका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन जोडे । कतारका बलरमा इकबाल हुसेनले ३३ रन खर्चेर ४ विकेट लिएका थिए ।

जवाफमा उत्रेको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रनमै समेट्नु परेको थियो । टोलीका लागि तमोर सज्जादले सर्वाधिक ३४ रनको योगदान दिएका थिए । सिंगापुरको बलिङमा जनक प्रकाशले ३ विकेट हासिल गरे ।

यसैगरी दोस्रो खेलमा मलेसियाले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६२ रनको सुरक्षित योगफल बनाएको थियो । टोलीका लागि शफिक सर्राफले सर्वाधिक ३८ रन जोड्दा कुवेतका बलर मोहम्मद अहसानले २ विकेट लिएका थिए ।

जवाफमा कुवेतको टोली १ सय २० रनमै रोकिएको थियो । टोलीका लागि मोहम्मद कासहिफले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । अन्य खेलाडीले निरस प्रदर्शन गर्नु नै कुवेतको हार भएको थियो । मलेसियाका बलरमा मुहम्मद सियाहदतले सर्वाधिक ३ विकेट लिएका थिए ।

नेपालको प्रतिद्वन्द्वी कतार
प्रतियोगिताको उपाधि दावेदारी टोली नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको लागि यो खेल जित्ने धेरै आधार छ । कतारले पहिलो खेलमा सिंगापुरसँग हार बेहोरिसकेको छ। नेपाल आईसीसीको एसोसिएट टोलीमा सबैभन्दा बलियो टोली हो । नेपालले हालै मलेसियामा भएका दुई खेलको टी २० सिरिज २–० ले जित हात पारेको थियो ।

यो समूहबाट शीर्ष हुने टोलीले अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ । ग्लोबल छनोटमा विभिन्न क्षेत्रबाट आएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा १४ टोलीको सहभागिता हुनेछन् । शीर्ष ६ टोलीले आगामी अस्टे«लियामा हुने टी २० विश्वकपमा खेल्न पाउनेछ ।

यो क्षेत्रीय समूहमा नेपाल मात्रै विश्व टी २० क्रिकेटमा खेलिसकेको एक मात्र टोली हो । अन्य कतार, कुवेत, सिंगापुर र मलेसियाको लागि विश्व टी २० अहिलेसम्म टाढाकै कुरा भइरहेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्व टी २० खेलेर इतिहास रचिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्