विश्वेश्वरको बाटाे



हिजो सोमबार ३७ औं बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयो । कार्यक्रममा सबैले बीपीको व्यक्तित्व सम्झिए । उहाँका भनाइहरुलाई उद्धृत गरे, लामो–लामो भाषण दिए । उहाँले स्थापना गर्नुभएको पार्टी नेपाली कांग्रेसले बीपीले देखाएको बाटोलाई ठीक ढंगले अनुशरण गर्न नसकेको भन्दै वक्ताहरुले आलोचना पनि गरे ।जनअपेक्षाअनुसार काम गर्न सकेको भए पार्टीले पछिल्लो निर्वाचनमा जसरी पराजय भोग्यो, त्यो अवस्था आउने थिएन, बीपीको विराशत वहन गर्न सकेको भए यस देशको नेतृत्व आज नेकाले गरिरहेको हुन्थ्यो भनेर पनि विश्लेषण गरे ।यस विश्लेषणलाई त्यस पार्टीका नेताहरुले कर्मकाण्डी रुपमा मात्र लिएका छन् वा आत्मसात् पनि गरेका छन् भन्ने चाहिं विचारणीय छ ।

बीपी २० औं शताब्दीका सर्वाधिक सम्झिने राजनेताहरुमध्ये एक हुन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई नेपालको ठोस धरातलमा मौलिक व्याख्या गर्ने बीपीको दृष्टिकोण अन्ततः नेपालको संविधान, २०७२ ले मार्गनिर्देशक सिद्धान्तका रुपमा स्वीकार गरेको छ । बीपीको सिंगो जीवन भारत–चीनजस्ता विशाल मुलुकको बीचमा रहेको तुलुनात्मक रुपमा सानो मुलुक नेपाललाई उचाइ दिलाउने लक्ष्यमै केन्द्रित रह्यो । उहाँले स्थापना गर्नुभएको पार्टी नेपाली कांग्रेस विशेषतः बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि सुस्तरी बीपीको सिद्धान्तबाट विमुख हुँदै गएको विश्लेषण एकथरिको छ । मुलुकमा अहिले आर्थिक समृद्धि र विकासको हावा चलाइएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीदेखि हरेक मन्त्री समृद्धिको राग अलापिरहेका छन् । कस्तो समृद्धि, कसको समृद्धि र कसरी हासिल गर्ने समृद्धि भन्ने प्रश्नको जबाफमा भने अहिलेसम्म सरकारले सर्वसाधारण जनतालाई स्पष्ट पार्न सकेको छैन । यस विषयलाई जनजागरणमा लागेको नेकाले ठीक तरिकाले उठाउन र आफ्नो राजनीतिलाई बलियो बनाउन सकेन ।

भौतिक विकास कि मानवीय विकास– आजको बहसको विषय हो । मानवीय विकासलाई अघिअघि र भौतिक विकासलाई पछिपछि तर सन्तुलित ढंगले अघि बढेमात्र आजको जनचाहना सम्बोधन हुन्छ । विकासको केन्द्रबिन्दु गरिब, किसानलाई माथि पु¥याउने हुुनुपर्दछ । अर्को महत्वपूर्ण पक्ष, राष्ट्रवाद र राष्ट्रियतालाई बीपीले जसरी बुझ्नुभएको थियो, त्यसको व्याख्या आज आवश्यक छ । आज हामीलाई चाहिएको राष्ट्रियता हो, राष्ट्रवाद होइन । झट्ट सुन्दा समान लाग्ने यी दुई विषयलाई विश्वको परिवर्तित अवस्था, दक्षिण एसियाको भूराजनीतिक यथार्थ र नेपालको मानवीय तथा भौतिक विकासको आवश्यकताको कसीमा व्याख्या गरिनुपर्छ ।

हिजो जाति, वर्ग र समुदायलाई अगाडि उभ्याएर राजनीति गरियो, तराईबाट पहाडे समुदाय खेद्ने काठमाडौं उपत्यकालाई नेवार समुदायलाई मात्र सुम्पिने हदसम्मको राष्ट्रवाद पनि उछालियो । समयलाई धन्यवाद दिनैपर्छ, छिटै नै राष्ट्रवाद राष्ट्रियतामा परिणत भयो, नेपालीमा रहेको बुद्धिमत्तापूर्ण सुझबुझका कारण विखण्डनसम्म तन्किने अप्रिय अवस्था सिर्जना भएन । आज पनि भारत वा चीन अथवा अर्को मुलुकलाई विस्तारवादी, साम्राज्यवादी, अतिक्रमणकारी वा यस्तै आलोचना गरेर राजनीतिको भ¥याङ उक्लने गलत अभ्यास छ, जो अपत्तिजनक मात्र होइन, निन्दनीय छ । बीपी कोइरालाले छिमेकी भारतलाई निश्चित दुरीमा राखेर नेपालको प्रतिष्ठा र पहिचान बढाउन जुन योगदान दिनुभयो, त्यसबाट पाठ सिक्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्