चट्याङ लागेर एकको मृत्यु, हल गोरु मरे



विराटनगर ।  खेत जोत्दै गरेको अवस्थामा चट्याङले लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको आज बिहान घटनास्थलमै मृत्यु भएको छ ।

घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उहाँको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै हुनुहुन्थ्यो । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि मरेका छन् ।

मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ । त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन् ।

आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । युवतीको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ प्रगति टोलका प्रकाश दाहालको घरमा रहेको टिभी र मल्टी प्लग बोर्डमा चट्याङले क्षति पुर्याउँदा २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्