२० वर्ष अगाडि हत्या गरी फरार रहेका गुरुङ पक्राउ



कास्की । २० वर्ष अगाडि हत्या गरी फरार रहेका व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका ११ साबिक घान्रु बक गाविस ७ बस्ने ५६ वर्षीय कुमार गुरुङ रहेका छन् । उनले सोही ठाउँ बस्ने ३१ वर्षीय मन प्रसाद गुरुङको हत्या गरी फरार भएका थिए ।

मन प्रसाद र कुमारबीच २०५६ माघ ४ गते साँझ हङकङ आईडीको बिषयमा वादविवाद भएपछि कुमारले धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका मन प्रसादको माघ ५ गते बिहान मृत्यु भएको थियो ।

घटना लगत्तै फरार कुमार २ बर्ष म्याग्दी जिल्लाको विभिन्न स्थानमा लुकिछिपी बसेको र त्यसपछि भारततर्फ गएर करिब १४ वर्ष भारत बसेको प्रहरीले जनाएको छ । बुबाको मृत्यु पश्चात घर फर्केका कुमार कास्की जिल्लाकै विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट पक्राउ परेका छन् ।

यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्