क्याम्पस प्रमुखको कुर्सी चौरमा !



हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पस प्रमुख एवम् सहायक प्रमुखहरुको कुर्सीलाई चौरका राखेर विरोध जनाइएको छ । क्याम्पस प्रशासन लाचार बनेको भन्दै स्ववियुले प्रमुख एवम् सहायक प्रमुखहरुको कुर्सीलाई कार्यकक्षबाट निकालेर प्रांगणमा राखेको हो ।

क्याम्पस प्रमुख बच्चुराम अधिकारी, सहायक प्रमुखहरु राजेन्द्र भट्टराई, घनश्याम घिमिरे र रामेश्वर बरालको कुर्सीलाई कार्यकक्षबाट निकालेर प्रांगणमा राखिएको स्ववियु सभापति कुमार केसीले बताउनुभयो ।

स्ववियु कार्यालयमा तोडफोड हुँदासमेत क्याम्पस प्रशासनले दोषीलाई कारबाही नगरेको, विद्यार्थीले खोजेको समयमा प्रमुख एवम् सहायक प्रमुखहरु भेट्ने नगरेको, हचुवाको भरमा विद्यार्थीलाई निलम्बन गरेकोले यस्तो गर्न स्ववियु बाध्य भएको उहाँले बताउनुभयो ।

राम्रो वातावरणमा पढाइ भइरहेको क्याम्पसलाई गिजोल्ने काम भएकोले यसको विरोधस्वरुप कुर्सी बाहिर निकालिएको उहाँको भनाइ छ । क्याम्पस प्रशासन र स्ववियुबीच वार्ता एवम् सहमति नभएसम्म आन्दोलन जारी रहने उहाँले चेतावनी दिनुभयो ।

क्याम्पसमा अध्ययनरत् दुई विद्यार्थीलाई क्याम्पस प्रशासनले हचुवाको भरमा निलम्बन गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गम्भीर आपत्ति जनाएको थियो । क्याम्पस प्रशासनजस्तो जिम्मेवार निकायले हचुवाको भरमा गरेको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै स्ववियुले आपत्ति जनाएको हो ।

सोमबार विज्ञप्ति जारी गर्दै स्ववियुले विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रशासनले विद्यार्थीलाई निलम्बन गरेकोप्रति आपत्ति जनाएको छ । कमिटी अध्यक्ष रामकृष्ण शिवाकोटीले विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाएर घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभएको छ ।

क्याम्पसले आइतबार कक्षा–१२ को मानविकी संकायमा अध्ययनरत् विद्यार्थीहरु विवेक हटुवाल र सुजल चौलागाईंलाई निलम्बन गरिएको सूचना जारी गरेको थियो । प्राध्यापकको बैठक र कार्यकारी समितिको अर्को निर्णय नआउञ्जेल उनीहरुलाई निलम्बन गरिएको सूचनामा उल्लेख छ । उनीहरुउपर प्राध्यापकमाथि आक्रमणको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्