ट्राफिकद्वारा ४२ लाख राजश्व सङ्कलन



प्रताप बानियाँ, म्याग्दी ।
जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गएको १ वर्षको अवधिमा झण्डै ४२ लाख रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले जिल्लाभित्र ट्राफिक नियम उल्लङ्घन गरी गुड्ने यातायातका विभिन्न साधनहरुमार्फत कुल ४१ लाख ९३ हजार पाँचसय रुपैयाँ राजश्व उठाएको हो ।

ट्राफिक नियमको उल्लङ्घन गरेका कुल ६ हजार २ सयवटा सवारीका साधनहरुलाई कारवाही गर्दा सो परिमाणको राजश्व सङ्कलन हुन आएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । आर्थिक वर्ष २०७४÷७५ मा कुल ८ हजार २ सयवटा सवारीलाई कारवाही गरी ५७ लाख ६६ हजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

गतवर्ष ट्राफिक कारवाहीमा सबैभन्दा धेरै जीप तथा कार परेका छन् । २ हजार २ सय ६७ ओटा जीप तथा कारलाई कारवाही गरी उनीहरुबाट १५ लाख २८ हजार पाँचसय रुपैयाँ रकम असुलउपर गरिएको कार्यालयका प्रहरी जवान वैकुण्ठ पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार १ हजार ४५ ओटा मोटरसाईकललाई कारवाही गरेर सातलाख ९२ हजार र १ हजार ३९ ओटा ट्रक तथा ट्रिपरलाई कारवाही गरी सातलाख आठहजार पाँचसय रुपैयाँ राजश्व सङ्कलन गरिएको छ । यसैगरी १ हजार ४३ ओटा बसलाई कारवाही गरिएकोमा छ लाख ६४ हजार रुपैयाँ राजश्व उठाइएको छ भने ८ सय ६ ओटा ट्याक्टरलाई कारवाही गरी पाँचलाख पाँचसय रुपैयाँ राजश्व उठेको छ । यातायातका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको, कागजात नबोकेको, क्षमताभन्दा बढी लोड बोक्ने गरेको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, हेल्मेट नलगाएको जस्ता गल्तीहरु भेटिएपछि कारवाही गरिएको प्रहरी जवान पौडलले बताए ।

त्यस्तै गत आवमा ट्राफिक प्रहरीले १ हजार ८ सय १७ जना विद्यार्थीहरुलाई ट्राफिक नियमसँग सम्बन्धित विभिन्न कक्षाहरु सञ्चालन गरी प्रशिक्षण दिइएको छ । कार्यालयले १७ पटक कार्यक्रम गरी ७ हजार ९ सय २७ ओटा ट्राफिक चेतनामूलकसम्बन्धी पर्चा एवं पम्पलेटहरु वितरण गरिएको जानकारी दिइएको छ । सोही अवधिमा म्याग्दी जिल्लामा बस, जीपकार, ट्याक्टर, मोटरसाइकल अन्य सवारीसहित ७ ओटा दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको प्रहरी जवान पौडेलको भनाइ छ । देशभरीमा नै गतवर्ष म्याग्दीमा सबैभन्दा कम दुर्घटना भएको उनले दावी गरेका छन् ।

कुन महिनामा कति राजश्व ? (आव ०७५÷७६)
महिना राजश्व
साउन रु. ३,९२,५००।–
भदौ रु. ३,५९,५००।–
असोज रु. ५,४४,०००।–
कात्तिक रु. ५,४४,०००।–
मंसिर रु. २,८०,५००।–
पुस रु. २,५३,०००।–
माघ रु. १,६७,५००।–
फागुन रु. २,८४,५००।–
चैत रु. ३,११,०००।–
बैशाख रु. ३,३४,०००।–
जेठ रु. ३,६१,५००।–
असार रु. ३,६१,५००।–
जम्माः ४१,९३,५००।–
स्रोतः जिल्ला ट्राफिक कार्यालय, म्याग्दी ।

प्रतिक्रिया दिनुहोस्