श्रीमानले प्रयोग गर्ने कण्डम पनि श्रीमतीले ल्याइदिनुपर्ने बाध्यता



सिर्जना पन्त, बागलुङ ।
अस्थायी साधन । त्यसमाथी कण्डम । यस्को बारेमा कुरा गर्नु पर्यो भने कानेखुसी गरिन्छ । महिला–महिला र पुरुष–पुरुषको विचमा सामान्य कुरा भएपनि महिला पुरुषको विचमा अस्थायी साधनको बारेमा कुरा हुनु लज्जाको विषय मानिन्छ । बागलुङ जिल्लाको सदरमुकाम संगै सुगम र विकासोन्मुख मानिने स्थानिय निकायहरुमा समेत गुपचुपको विषय मानिने अस्थायी साधनको बारेमा तमानखोला गाउँपालिकाका महिलाहरु भने पुरुष स्वास्थ्यकर्मीहरु संग पनि खुलेरै परामर्श गर्छन् ।

प्रजनन स्वास्थ्य, अस्थायी साधन र प्रयोग गर्ने तरिकाको बारेमा खुलेर कुरा गर्नु यहाँका महिलाहरुको रहर नभएर बाध्यता हो । पुरुषहरुले स्थायी बन्ध्याकरण गर्दा आफुहरु शारिरीक रुपमा कमजोर हुने र ग्राहो, अफट्यारो काम गर्न नसकिने भन्दैं तर्किएपछि यहाँका महिलाहरुले पुरुषले प्रयोग गर्ने अस्थायी साधन (कण्डम)को जोहो पनि आफैले गर्नुपरेको हो । स्थायी बन्ध्याकरण गर्न नमान्ने यहाँका पुरुषहरुले अस्थायी साधन समेत श्रीमतीले उपलब्ध गराए मात्र प्रयोग गर्ने गरेको महिलाहरु बताउँछन् ।

तमानखोला गाउँपालिका–५ खुङखानी की नरदेवी सिर्पाली अस्थायी साधन लिन स्वास्थ्य चौकी आफै पुग्नुहुन्छ । तिन सन्तानी आमा सिर्पालीका श्रीमानले स्थायी बन्ध्याकरण गर्न त मानेन्, स्वास्थ्य संस्था पुगेर अस्थायी साधन ल्याउँन पनि मान्दैनन् । ‘अस्थायी साधन प्रयोग नगर्ने हो भन्ने गर्भ रहन्छन्, सिर्पालीले खुलेरै भन्नुहुन्छ, श्रीमानलाई लिन जानुस भन्दा मान्नुहुन्न त्यसैले कण्डम लिन म आफै स्वास्थ्य चौकी जान्छु ।’

स्थायी बन्ध्याकरण गर्दा कमजोर हुने भन्दैं श्रीमानले बन्ध्याकरण गर्न नमानेको नमिठो अनुभव सोही ठाउँकी आशकुमारी सिर्पालीको छ । उहाँका श्रीमानले अस्थायी साधन पनि प्रयोग गर्न मान्नुहुन्न । ‘बन्ध्याकरण गर्नुस भन्दा देश विदेशमा ग्राहो काम गर्न सकिदैन भन्नुहुन्छ, अस्थायी साधन पनि प्रयोग गर्न नमानेपछि बच्चा बस्ला भन्ने डरले आफैले पिल्स प्रयोग गर्ने गरेकी छु ।’

बागलुङको तमानखोलाका महिलाहरु पुरुषको तुलनामा अस्थायी साधनको बारेमा खुलेर कुरा गर्छन् । सानो उमेरमा विवाह र सानैमा सन्तानका आमा बनेका यहाँका अधिकाशं महिलाहरुले श्रीमानले सन्तानको रहर पुगेपछि पनि स्थायी बन्ध्याकरण गर्न नमान्दा स्वास्थ्यमा समेत प्रतिकुल असर परेको कारण अस्थायी साधनको बारेमा खुलेरै कुरा गरेका हुन् ।

शिक्षा, चेतना र अवसरकार हिसावल निकै पछि परेका यहाँका महिलाहरु दुई वटा मात्र सन्तान जन्माउनु पर्छ भन्ने कुरामा भने सचेत देखिएपनि गरिवी र पुरुषहरुको अटेर स्वभावको कारण बाध्यता र अल्झनमा परेको देखिन्छ ।

खुङखानी स्वास्थ्य चौकीको पछिल्लो तथ्यांक अनुसार यस क्षेत्रमा हाल २२ जना महिलाले पिल्स, ४१ जनाले डिपो र ५९ जनाले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । ‘पुरुषहरुको तुलनामा महिलाहरु अस्थायी साधनको प्रयोगमा धेरै सचेत छन्, स्वास्थ्य चौकी प्रमुख दिपक पौडेलले भन्नुहुन्छ यहाँका पुरुषहरुले विभन्न बाहना बनाएर अस्थायी साधन प्रयोग गर्न नमान्ने गरेको पाईएको छ ।’

‘हामिले स्वास्थ्य चौकीबाट कण्डम लैजानेहरुको तथ्याङक राखेका छैनौं पौडेलले भन्नुभयो, तर कण्डम लिन आउँनेहरु पनि ९० प्रतिशत महिलाहरुनै छन् ।’ यहाँका पुरुषहरुको हठ र अटेरिको प्रतक्ष शिकार महिलाहरु भएका छन्, पौडेलले भन्नुभयो ‘स्थायी साधनको त कुरै छोडौं अस्थायी साधनको कुरा गर्न पनि यहाँका पुरुषहरु मान्दैनन् ।’

स्वास्थ्य चौकीमा अस्थायी साधन प्रयोग गर्ने महिलाहरुले गुनासो पनि गर्ने गरेको पौडेलले बताउनुभयो । समयमा महिनावारी नहुने, महिनावारी भएको समयमा अत्याधिक रक्तश्रव हुने, टाउँको र ढाड दुख्ने, आलस्यता हुने जस्ता समस्याहरु देखिने गरेको महिलाहरुले गुनासो गर्ने गरेका छन् ।

अस्थायी साधन प्रयोग गर्दै आएका महिलाहरुमा कहिले काँही अत्याधिक रत्तश्राव भएर साधननै परिर्वतन गर्नुपरेको समेत पौडेलले बताउनुभयो । महिलाहरुले प्रयोग गर्ने अस्थायी साधन केही समय समयमा परिवर्तन गरिरहनु पर्ने हुन्छ । तीन महिने डिपो सुई प्रत्येक तीन महिनामा लगाउनु पर्ने भएकाले झुक्किएर कहिलेकाँही गर्भ रहने समस्या रहेको महिलाहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्