कंगना बहिष्कृत



बलिउड अभिनेतृ कंगना रनावत फेरि एकपटक चर्चामा आएकी छन्। सधैं चर्चामा आउनका लागि विभिन्न फन्डा अपनाउने उनी यसपटक चर्चामा आउँदा भने उनी आफैं चकित परेको भारतीय सञ्चारमाध्यमले जानाएका छन्।

समाचारअनुसार उनले हालै आफ्नो फिल्म मेन्टल है क्याको प्रचारप्रसारका लागि मुम्बईमा एक कार्यक्रमको आयोजना गरेकी थिइन्। तर, उक्त कार्यक्रम सञ्चारकर्मीले बहिष्कार गरेपछि रद्द हुन पुगेको छ।

फिल्म युनिटले घोषणा गरेको भव्य समारोहमा कंगना तथा निर्मात्री एकता कपुर पनि सहभागी हुने कार्यक्रम थियो। जसमा भारतका ठूला सञ्चारमाध्यमलाई पनि समाचार संकलनका लागि आमन्त्रण गरिएको थियो।

तर, कंगना सहभागी हुने समारोहलाई बहिष्कार गर्ने निर्णय गरेका अधिकांश सञ्चारकर्मी उक्त समारोहमा उपस्थित नभएका कारण उक्त समारोह नै रद्द गरिएको घोषणा गर्न आयोजक बाध्य हुन पुगे। कार्यक्रम रद्द गर्नुका कारण भने कंगना रनावत बिरामी भएको जनाइएको समाचारमा उल्लेख छ। तर, कंगना भने बिरामी नभएको बलिउडका विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

केही दिनअघि जजमेन्टल है क्या फिल्मकै पत्रकार सम्मेलनका क्रममा कंगनाले एक पत्रकारलाई व्यक्तिगत आरोप लगाएकी थिइन्। उक्त घटनाको विरोधमा सञ्चारकर्मीले कंगना सहभागी हुने समारोह बहिष्कार गर्ने घोषणा गरेका थिए। विभिन्न विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आउने कंगनालाई भने यो घटनाले ठूलो झट्का दिएको छ।

प्रतिक्रिया दिनुहोस्