बतासे पानी सार्वजनिक



पर्वत, (नेस)। सञ्चारकर्मी तथा दोहोरी गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वर रहेको तीज गीत बतासे पानीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

लामो समयदेखि लोकिप्रय तीज गीत बजारमा ल्याउँदै आएका अखेली र लामिछानेले यसपटक गण्डकी धौलागिरी क्षेत्रमा लोकप्रिय भाकामा अर्को तीज गीत बतासे पानी बजारमा ल्याएका हुन्। गीतमा सर्जक शिव अखेलीको शब्द र गायक कृष्णको लय रहेको छ।

गीतको एरेन्ज कृष्ण विक ‘भाञ्जा’ले गरेका छन्। यसअघि लामिछाने र अखेलीले आउने जाने बसैको भाडा तिरम्ला, उपन्यासलगायतका गीत ल्याएका थिए। आउने जाने बसको भाडा तिरम्ला गीतले दुवै कलाकारलाई स्थापित गरिदिएको थियो।

बतासे पानीको म्युजिक भिडियो निर्देशन शंकर बीसीले गरेका छन् भने महेन्द्र गौतम र दीपाशा बीसीले अभिनय गरेका छन्। भिडियोको छायांकन दुर्गा पौडल र सम्पादन नवीन घर्तीमगरले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्