छवि र शिल्पाविरुद्ध बहुविवाहको जाहेरी

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध



३ वर्षपछि बहुविाहको आरोप लागेको छ। छविको पहिलो पत्नी हेमा ओझाले छवि र शिल्पाविरुद्ध प्रहरीमा बहुविवाहको जाहेरी दिएकी छन्। हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिँदै छवि र शिल्पालाई तत्काल पक्राउ गरेर कारबाही अगाडि बढाउन माग गरेकी छन्। उनले छवि र शिल्पाबीच विवाह भएको ३ वर्षपछि उनीहरूविरुद्ध जाहेरी दिएकी हुन् भने आफूहरूबीच वैवाहिक सम्बन्ध गाँसिएको ३५ वर्षपछि न्यायको माग गरेकी हुन्।

‘२०४१ सालमा हामीबीच विवाह भएको हो। हाम्रा दुई सन्तान राजीव र महेश छन्। उहाँ र मेरो सम्बन्ध सामान्य नै थियो। त्यसपछि उहाँ कहिले काठमाडौं कहिले जिल्लातिरै आऊ–जाऊ गरिरहनुहुन्थ्यो। त्यसपछि उहाँको व्यवहारामा केही परिवर्तन आएको मैले महसुस गर्न थालें। हामीबीचमा केही मनमुटाव पनि भयो। तपाईंको बानी व्यवहार मलाई ठीक लागेको छैन। के हो, किन परिवर्तन हुनुभएको भनेर सोध्दा केही होइन, मलाई किन शंका गर्छौ मात्र भन्नुहुन्थ्यो’, जाहेरीमा हेमाले लेखेकी छिन्– ‘हुन पनि उहाँको पेसा फिल्म क्षेत्र भएकाले सबैसँग बोल्नुपर्छ, हास्नुपर्छ। धेरै शंका गर्नु ठीक होइन भनी मैले पनि त्यस विषयमा विवाद गर्न छाडें। विभिन्न समयमा विभिन्न महिलासँग जोडेर मलाई विभिन्न व्यक्तिले सुनाउँथे, मैले उहाँसँग सत्यता त्यस्तो होइन भन्ने जवाफ पटक–पटक दिइरहँदा कसैका सवालमा पनि मेरो श्रीमान्ले अर्को विवाह नै गरेको प्रमाण थिएन। त्यसैले मेरो श्रीमान्ले भनेको कुरा नै सही हो, हामी कामको सिलसिलामा मात्र सँगसँगै भएको मात्र हो भन्ने जवाफमा मैले विश्वासै गरी बसेको थिएँ।

तर, यसै बीचमा शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्ला आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग फेरि पनि सोद्धा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण? भनी उल्टो प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ।’

हेमाले उनीहरूबीच कहिँकतै विवाह दर्ता भएको नपाएको तर पछिल्लो समयमा सञ्चारमाध्यममा धेरै चर्चा भएपछि आफैंले खोजबिन गरी गत साउन ३ गते छविकै कार्यालयका कर्मचारीमार्फत छवि र शिल्पाबीच विवाह भई दर्ता गरेको कागजात फेला पारेको जाहेरीमा उल्लेख गरेकी छिन्। ‘सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकाले हिजोमात्र मैले विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेलबीच २०७५ साल पुस ११ गते विवाह दर्ता गरेको निज विपक्षीहरूको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि फेला पारेपछि निजहरूले बहुविवाह गरेको प्रमाणित नै भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी छु’, प्रहरीले दर्ता गरिनसकेको जाहेरीमा हेमाले उल्लेख गरेकी छिन्– ‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुनबमोजिम यथाशक्य चाँडो नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाई अनुसन्धानसमेत गरेर निजलाई कानुनबमोजिम हदैसम्मको सजाय गरी पाउँ।’

महानरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक हरेन्द्र बोगटीका अनुसार जाहेरी दर्ता भइसकेको छैन। उनलाई महिला सेलमार्फत जान अनुरोध गरिएको बोगटीले बताए।

यसअघि शिल्पाले घरेलु हिंसा गरेको आरोपमा छविविरुद्ध प्रहरी गुहारेकी थिइन् भने केहीअघि मात्र पारपाचुकेका लागि मुद्दा दायर गरेकी थिइन्। उनीहरूबीच ३ वर्षअगाडि विवाह भएको र केही अगाडि विवाह दर्ता भएको हालैमात्र सार्वजनिक भएको थियो। हेमापछि छविले नायिका गीताञ्जली सुनुवारसँग विवाह गरेका थिए भने नायिका तथा निर्मात्री रेखा थापासँग लिभिङ टुगेदरको सम्बन्ध थियो। रेखा केहीअघि आफैं छविबाट अलग भएकी थिइन्।

 

 

प्रतिक्रिया दिनुहोस्