पेक्यूसँग हारेका थुरम्यान नेपालमा चर्चित



लन्डन, (एजेन्सी) ।
फिलिपिन्सका चर्चित बक्सर मेनी पेक्यूले अमेरिकन बक्सर केथ ’वान म्यान’ थुरम्यानको अपराजित यात्रालाई पूर्णविराम लगाइ दिएका छन् ।
पेक्यूसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भए पनि थुरम्यान नेपालमा भने चर्चित छन् । करिब दुई वर्षअघि नेपाल आएका थुरम्यानले नेपाली परम्परा अनुसार नेपाली युवती प्रियाना थापासँग लगन गाँठो कसेका थिए ।

४० वर्षीय भेट्रान बक्सर पेक्यूसँग थुरम्यान पराजित भएका थिए । वेल्टर वेट बक्सिङमा अहिलेसम्म अपराजित रहेका अमेरिकन बक्सर थुरम्यानलाई पेक्यूले अमेरिकाको लस भेगासमा सम्पन्न खेलमा पराजित गरेका थिए । दुई जजले पेक्यूको पक्षमा ११५–११२ को स्कोर दिएका थिए भने एक जजले थुरम्यानको पक्षमा ११४–११३ को स्कोर दिएका थिए । यो जितसँगै पेक्यूले डब्लुबीए सुपर वेल्टर वेट च्याम्पियनको बेल्ट जिते ।

यसअघिसम्म खेलेका सबै २९ फाइटमा अपराजित थुरम्यानले ४० वर्षीय पेक्यूलाई हराउने अनुमान गरिएको थियो । तर जितपछि खेलमा उमेरले कुनै फरक नपार्ने पेक्यूले प्रमाणित गरेका छन् । फिलिपिनी राजिनीतिमा समेत संलग्न पेक्यू ब्यवसायिक बक्सिङमा आठ डिभिजन तौलमा विश्व च्याम्पियन बनिसकेका छन् ।

कुल ७१ मध्ये पेक्यूले ६२ वटा खेल जितेका छन् भने ७ वटामा पराजित भएका थिए । उनले ३९ वटा खेलमा विपक्षीलाई नकआउट गरेका थिए । थुरम्यानको अपराजित यात्रा टुङ्गाएका पेक्यूले अब अर्को खेल आमिर खानसँग खेल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्