सम्बन्ध विच्छेद गर्छन्, अंश लिँदैनन्



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा सम्बन्ध विच्छेद गर्ने अधिकांश महिलाले अंश लिने नगरेको पाइएको छ । लमजुङ जिल्ला अदालतको रेकर्डले त्यस्तो देखिएको हो ।

श्रीमान्सँग सम्बन्ध विच्छेद गराउँदा महिलाले श्रीमान्को सम्पत्तिबाट आधा अंश पाउने कानुनी व्यवस्था छ । महिलालाई आधा अंश पाउने व्यवस्था भए पनि अधिकांश महिलाले अंश लिने नगरेको श्रेस्तेदार जगतबहादुर भण्डारीले बताउनुभयो । कमै महिलाले मात्र अंश लिएर सम्बन्धविच्छेद गर्ने गरेको उहाँले बताउनुभयो ।

बच्चाबच्ची भएको हकमा भने आमासँग बच्चा राख्ने गरी बच्चाको पालनपोषणका लागि मासिक रूपमा खर्च व्यहोर्ने सहमति गरे पनि अधिकांशले अंश लिने गरेका छैनन् ।’

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले लमजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिलाले अंश नलिने गरेको बताउनुभयो । ‘जति पनि महिलाहरू सम्बन्ध विच्छेदका लागि अलादतमा आउँछन्, उनीहरूलाई सोध्ने गरिएको छ कि ‘खान लाउन पर्ने होला, अंश चाहिन्छे होला नि ? भनेर तर अधिकांशले लिँदैनौं भन्छन्’, आचार्यले भन्नुभयो– ‘सोधपुछ गर्दा धेरै महिलाले अंश चाहिँदैन भन्ने गरेका छन् ।’

जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न आउनेको संख्या बढ्दो रहेको बार एकाईका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार न्याय सम्पादनमा सरल र सहज भएकाले पनि अदालतमा आउनेको संख्या बढेको अनुभव छ । अदालतका अनुसार भदौ १ देखि नयाँ सहिंता लागु भएसंगै पुरुषले पनि सम्बन्धविच्छेदका मुद्दा दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्