‘वास्ताविक भूकम्पपीडितलाई दुःख दिइयो’



नेपाल समाचारपत्र, गुल्मी ।
भूकम्पपीडितको अन्तिम किस्ता रोकिएकोप्रति गुल्मीका जनप्रतिनिधीले गुनासो गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा आर्थिक वर्ष २०७५÷०७६ को प्रगति समिक्षा कार्यक्रममा सहभागि जनप्रतिनिधीले भूकम्पपीडितले निर्माण गरेका घरहरु अन्तिम किस्ता पाउने क्रममा प्राबिधिक समस्या भन्दै राकिएकाले पाएको २ वटा किस्ता फिर्ता गर्ने कि के गर्ने भन्नेबारे अन्योल बनाएको गुनासो गरेका थिए ।

सत्यवती गाउपालिका प्रमुख पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका उपप्रमुख राधिका अर्याल, रुरु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी, रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले प्राधिकरणको स्पष्ट मापदण्ड नभएकाले थुप्रैले दुख पाएको गुनासो गर्नुभयो । पहिलो र दोस्रो किस्ता दिएर अन्तिम किस्तामा प्राधिकरणले भुकम्प पीडितलाइ दुख दिन नहुनेमा जोड दिनुभयो ।

प्राधिकरणको जिल्ला कार्यान्वयन इकाईले स्थानीय तहमा सूचनाको समन्वय गर्नुपर्ने बताउनुभयो । प्राधिकरणको नीतिमै समस्या भएकाले ठाउँअनुसार प्राबिधिकहरुले बोल्दा र काम गर्दा नागरिकले सास्ती पाएको बताउनुभयो ।
जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वधार तम्घास गुल्मीले जिल्ला समन्वय प्रमुख लक्षमन पराजुली, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्लाका सरोकारवाला बीच समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यालयले सम्पादन गरेका सबै गतिविधिको समिक्षा गरिएको थियो । जिल्ला कार्यान्वयन इकाईका प्रमुख इन्जिनियर पारस पन्थीले जिल्लामा कार्यालयले गर्ने निजि आवास पुनर्निर्माण, भूकम्पबाट क्षति भएका विद्यालयको पुनर्निर्माण, स्थानीय पूर्वाधार निर्माण, छुट तथा पुनः जाँच सर्वेक्षण, जोखिम बस्ती स्थान्तरन तथा पुनर्निर्माण कार्यक्रम र गुम्बा पुनर्निर्माण कार्यक्रमका बारेमा जानकारी गराउनु भयो ।

गुल्मीमा ४ हजार १ सय ४४ जना पुनर्निर्माण लाभग्राही रहेका छन । त्यसमा ३९ सय ६४ जनाले प्रथम, २५ सय २४ जनाले दोर्सो र १५ सय २३ जनाले तेस्रो किस्ता लिएको पन्थीले बताउनुभयो ।

७७ जनाले एकमुष्ट अनुदान लिएका छन् । १ सय ९५ जना प्रबलीकरणका लाभग्राहीमध्ये २६ जनाले पहिलो किस्ता लगेको पन्थीले बताउनुभयो । अहिले गुल्मीबाट गत असार १५ सम्म २६ सय ५० जनाको गुनासो सम्बोधन गर्दै घरको छुट तथा पुन जाँच सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्