शिक्षाको नाममा ब्रह्मलुट, संगठित बन्दै अभिभावक



विजय नेपाली, पोखरा ।
पोखरामा शिक्षाको नाममा अधिकांश विद्यालयले शिक्षाको नाममा निकै ठगी गरेको भन्दै पोखराका अभिभावकहरु संगठित भएका छन् । माध्यमिक तहको विद्यालयले विद्यार्थीबाट चर्को शुल्क लिए पनि सोहीअनुसारको अध्यापन नगराएको अभिभावकले आरोप लगाएका छन ।

विद्यालयहरु न्यूनतम २ सय २० दिन खुल्नुपर्ने जसमा १ सय ९२ दिन अनिवार्य पढाइ हुनुपर्ने शिक्षा ऐन २०२८ ले निर्देशन गरेको छ । कक्षा १ देखि १० र कक्षा ११–१२ को शैक्षिक सत्रको शुरुआत एकै समयमा नहुँदा कक्षा ११ र १२ को पठनपाठन २ सय २० दिन नभई करिब १ सय ८० दिन मात्र हुँदै आएको छ ।
कक्षा १ देखि १० सम्म वैशाखदेखि नै शैक्षिक सत्र शुरु भए पनि ११ र १२ को भने साउनबाट मात्रै शुरु हुने गर्छ । तर एसईई सकेर कुनै पनि विद्यालयमा भर्ना हुन जाने विद्यार्थीले साउनअघिको तीन महिनाको समेत रकम तिर्नपर्ने बाध्यता छ ।

सामुदायिक विद्यालयमा करिव ८ सय देखि १२ सयसम्म मासिक फि लिने गरेको पाइन्छ भने निजी विद्यालयमा न्युनतम ३ हजारदेखि माथी लिने गरेको पाइन्छ । यतिमा मात्र होइन प्रत्येक विषयको पढाइमा समेत ठगिने गरेका छन् विधार्थीहरु । माध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा २०६९ ले व्यवस्थापन, शिक्षा, मानविकी, कानुनलगायतका विषयलाई दैनिक १ घण्टा र वार्षिक १ सय ५० घण्टा र बिज्ञान विषयमा प्रयोगात्मक कक्षासमेत हुने हुदा थप एक घण्टा शिक्षण गर्न निर्दिष्ट समेत गरेको छ ।

तर पनि पोखरा मात्र नभई देशभरका हजारौ विद्यालयले लाखौ विधार्थीलाइ ठगी गर्दै आइरहेको अभिभावकहरुको गुनासो छ । पाठ्यभार घटाउन नपाउने व्यवस्थालाई लुकाएर आफुखुसी प्रती विषय वार्षिक ५० घण्टा प्रत्येक विषयको २ सय ५० घण्टा कम पढाएर बालबालिका माथि चरम शोषण गरेको अभिभावकको गुनासो रहेको छ । कुनै पनि विषय ४५ मिनेट पढाउनेले ५० पिरियड अर्थात दुई महिना कम पढाउने गर्छन भने ४० मिनेटको कक्षा संचालन गर्नी ७५ पिरियड अर्थात तीन महिना कम पढाउने गर्छन । यो देशकै ज्वलन्त समस्या हो ।

देशभरका अधिकांस अभिभावकलाइ शैक्षिक क्षेत्रमा आफ्ना बालबालिका ठगी भएको कुरा समेत थाहा छैन । विधार्थीहरु ठगिदा समेत अभिभावक सुतेर बसेको कारणले विभिन्न विषयमा समेत विद्यालयले रकम असुल्ने गरेको संयुक्त अभिभावक संघर्ष समिती कास्कीका संयोजक यमनाथ सापकोटाले बताउनुभयो । ‘यो पोखराको मात्र समस्या होइन हामीले विद्यालयले माग्ने रकम जहिले पनि दिने गरेका छौ, तर शिक्षा ऐनअन्तर्गत अध्यापन कसैले पनि गराएको पाइँदैन विधार्थीहरु खुलेआम ठगिएका छन यसका विरुद्ध सबै एक हुन आवश्यक छ’ –सापकोटाले भन्नुभयो ।

पोखरामा एक विद्यालयले एक ठाउँमा विद्यालयको स्वीकृत लिँदै अन्यत्र सञ्चालन गरेको बताउनुभयो । कक्षा ११ को भर्ना प्रक्रियामा समेत इन्ट्रान्स परिक्षाको नाममा विधार्थीलाइ अनावश्यक सास्ती दिएर बालबालिकालाइ हतोत्साहित बनाइएको छ । एसईई सकेर पनि पुन परीक्षा दिनुभनेको एसईईको विश्वसनिय नहुनु जस्तो देखिएको सापकोटाले बताउनुभयो ।

त्यस्तै मादी गाउँपालिका–४ का वडाअध्यक्ष सत्यराज सापकोटाले शिक्षा अनुगमन समिती गठन गरि अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । अभिभावकको कदमप्रति जनप्रतिनिधिको समेत साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा क्षेत्रमा विधार्थीमाथि भएको अन्यायको अनुगमन गर्ने निकाय मौन रहदा अभिभावकहरु नै संघर्षमा उत्रन बाध्य भएका छन । यस विषय प्रती सम्बन्धित निकायले कदम चाल्न पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्