बिरामीको मृत्युले अस्पताल तनावग्रस्त



नेपाल समाचारपत्र, विराटनगर ।
बिरामीको मृत्यु भएपछि विराटनगरको नोबेल अस्पताल तनावग्रस्त बनेको छ । शुक्रबार चिप्लिएर देब्रे खुट्टामा चोट लागेपछि उपचारका लागि नोबेल अस्पताल पुगेका दुहबी ५ घर भएका ४० वर्षिय अनिल साहको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो ।

तर, चिकित्सकले आइतबार बिहान ६ बजे मात्र मृत्युबारे आफन्तलाई जानकारी गराए थिए । यता आफन्तले चिकित्सकका लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । अहिले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएपछि सुनसरीको दुहबीवासी आन्दोलित भएका छन् भने उनीहरुले दुहबी बजार बन्द समेत गराएका छन् ।

शुक्रबार दिउँसो ३ बजे साहलाई अप्रेसनको लागि लगिएको परिवारले जनाएको छ । तर, उनको स्वास्थ्य अवस्थामा समस्या देखिएको भन्दै भेन्डिलेसनमा राखिएको थियो । उता परिवारले विरामीको स्वास्थ्य अवस्था बारे बुझ्दा चिकित्सकले केही जानकारी नगराएको आफन्तको आरोप छ । मृतकका परिवारले अस्पतालमा नाराबाजी गरेपछि अहिले अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

अहिले अस्पताल तनावग्रस्त रहेको र प्रहरी परिचालन गरेर अस्पताललाई सुरक्षा दिइएको छ । एसियन थाइ फुडसका प्रडक्सन म्यानेजरको रुपमा काम गर्दै आएका उहाँको डाक्टर अमित अग्रहरी र सन्दीप अधिकारीले उपचार गर्नुभएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्