वर्षातका बिमारी



नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई नागरिकको नैसर्गिक अधिकारका रुपमा स्वीकार गरेको छ । तर, सरकारले यस संवैधानिक प्रावधानलाई कति कार्यान्वयन गरेको छ भन्ने सन्दर्भ मुख्य चासोमा पर्दछ । सरकारले नीति, नियम र कानुन बनाएकै छौं भनेर चित्त बुझाउने अवस्था छैन । नेपालको भूबनोट, खानेपानीको स्रोत, घरभित्र हुनुपर्ने सरसफाइ लगायतका विषयमा जिम्मेवारी पाएको निकायले कति ध्यान दिएको छ भन्ने बारेमा सरकारले ध्यान दिनु जरुरी छ । खासगरी, वर्षात यामसँगै फैलने झाडापखाला, आउँ रगत, भाइरल ज्वरो, रुघाखोकी, छालासम्बन्धी समस्या, एलर्जीआदि प्रमुख छन् ।

विशेषगरी बालबालिका, दीर्घरोगी, गर्भवती तथा ज्येष्ठ नागरिकले बर्षात याममा अनिवार्य रुपमा पानी उमालेर मात्र खानु उपयोगी हुने चिकित्सकहरुको भनाइ छ । वर्षात याममा देख्दा सङ्लो देखिएको पानी शुद्ध हो या होइन पहिचान हुँदैन । यस पाटोलाई सामान्य मान्नुहुन्न र सरकारले महामारी फैलिएपछि मात्र टोली खटाउने व्यवहार बदलेर पहिला नै सचेतना अपनाउनुपर्छ ।

अधिकांश रोगको मूल स्रोत नै सरसफाइ तथा खानेपानी भएकाले पहिलो सचेतना घरबाट नै हुनुपर्ने कुरामा विशेषज्ञहरुले जोड दिदै आएका छन् । नीतिगत रुपमा सेवा सुविधाका बारेमा अनुगमन गर्ने लगायतका विषयलाई सरकारले प्राथमिकतामा राखेको भए पनि अहिले सम्म जनस्वास्थ्यका विषयमा स्थानीय स्तरसम्म पुगेर अनुगमन गरेको कुनै पनि नेपाली नागरिकले महसुस गरेका छैनन् । पानी उमालेर खानुपर्छ भन्ने सन्देश कति नेपालीले हेरे, सुने र व्यवाहारमा उतार्न सम्भव भए भन्ने सम्मको आँकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सार्वजनकि गरेको प्रगति विवरणमा जनस्वास्थ्यका क्षेत्रमा थुप्रै प्रगति गरेको देखाएको छ । प्रगति प्रतिबेदनमा संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा साविकका जिल्ला र जन स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अञ्चल अस्पताल, क्षेत्रीय र उपक्षेत्रीय अस्पताल, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, क्षेत्रीय मेडिकल स्टोर, क्षेत्रीय तालिम केन्द्र लगायतका संरचनाहरू प्रदेश सरकारलाई गत वर्ष माग महिनामा नै हस्तान्तरण गरिएको जनाएको छ । तर ती निकायबाट के के काम भए र के कति हुन बाँकी छ भन्ने बारेमा कहीं कतै उल्लेख गरिएको छैन ।

निष्कर्षमा जनस्वास्थ्यप्रति सरकार र यसका नीतिहरु संवेदनशील छैनन् भन्ने होइन, तर त्यसको उचित कार्यान्वयन भएको छैन भन्ने चाहिं हो । खासगरी वर्षा याम, बाढी पहिरोको अवस्था र विपद्को स्थितिमा आम नागरिकले स्वास्थ्यका सबै पक्षमा ध्यान दिन सक्तैनन् । संकटापन्न अवस्थामा उमालेर पानी पिउने, हात धोएर खाना खाने, सफा भोजन गर्नेजस्ता सामान्य विषयमा पनि ध्यान पुग्न सकिरहेको हुन्न ।

अरु सामान्य अवस्थामा जति ध्यान दिइए पनि विशेष आवश्यकताका समयमा ध्यान दिइएन भने अन्ततः असर पर्ने नागरिकलाई नै हो । सरकारको मुख्य जिम्मेवारी नागरिकको सुरक्षामा निहित हुन्छ, वर्षा याम वा अरु कुनै विपद्लाई देखाएर राज्य निर्दोष सावित हुन सक्तैन । सामान्य अवस्थामा नागरिकका सुरक्षा त जस्तो सरकारले पनि गर्छ, विशेष परिस्थितिको सुरक्षा क्षमताले नै सरकारको योग्यता प्रमाणित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्