बुद्धमूर्ति तोडफोडको छानबिन हुनै पर्छ



बुधबार राति बुटवल–बेलहिया सडकखण्ड राखिएका बुद्धमूर्ति तोडफोड भएपछि अनेक थरीको बहस शुरु भएको छ । उक्त सडकखण्डमा रहेका पाँचवटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका छन् । हालसम्म पनि कसले र किन बुद्धमूर्ति तोडफोड गरेको भन्ने तथ्य बाहिर आउन सकेको छैन् । बुद्धमूर्ति तोडफोड भएपछि समाजिक सञ्जालदेखि चिया पसलसम्म किन बुद्धमूर्ति तोडफोड भयो भन्ने बहस चलेको छ । केहिले धार्मिक सद्भावमाथिको प्रहार भनेका छन् भने केहिले विकास विरोधिको संज्ञा दिएका छन् ।

धर्मको नाममा यस्ता गतिविधि भएको हो भने यो घटना देशका लागि घातक हो । किनभने, नेपाल धर्म निरपेक्ष देश हो र यहाँ हरेक नागरिकले स्वतन्त्ररुपमा कुनै पनि धर्ममा जोडिन पाउने अधिकार छ । धार्मिक सहिष्णुताकै कारण यहाँ जात, सम्प्रदाय र धर्मका नाममा झगडा र जातीय, साम्प्रदायिक धार्मिक हिंसा भएको छैन । तर, यस्ता गतिविधिले गर्दा धार्मिक असहिष्णुता बढेको भन्ने तर्कहरु पनि आइरहेको छ । तसर्थ, बुद्धमूर्तिको तोडफोडको गम्भीरतापूर्वक छानबिन हुन आवश्यक छ ।

धर्मका नाममा कुनै पनि हिंसा हुन नदिन सम्बन्धित पक्षले यो घटनाको सत्यतथ्य बाहिर ल्याउन जरुरी छ । नेपालको विशेषता र पहिचानको रूपमा रहेको धार्मिक सहिष्णुतालाई अझै मजबुत पार्ने कार्यमा सबै सजग रहनुपर्छ । संस्कृति र धर्म एक–अर्काका पूरक भएको हुँदा धार्मिकरूपले सद्भाव कायम गरी हाम्रो विशेष पहिचानलाई अझै उचाइमा पु¥यााउनु हामी सबैको साझा कर्तव्य पनि हो । तसर्थ, सम्बन्धित निकायले बुद्धमूर्ति तोडफोडको घटनाको गम्भीरताका साथ छानबिन गरी अपराधीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।
– नवीन नेपाली, बुटवल ।

कल्पनाबाहिरका अपराध
कल्पना त रामराज्यकै गरिन्छ । रामराज्य अपराधमुक्त थियो भनिन्छ । तर, बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मकरुपले शान्त थिएन । त्यसैले त एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिह्न लगाउँछ, सीताको चरित्रमा शंका गर्छ । त्यही शंकाले सीता परित्यक्त हुन्छिन् । नारीवादी दृष्टिले रामबाट भएको सीता त्याग्ने घोषणाले रामलाई सर्वसाधारण व्यक्तिमा दर्ज गराउँछ ।
यो घटनासँग वर्तमान समयको साइनो छैन तर अपराधको बहुआयामिक पाटाहरु अध्ययनका लागि यो प्रतिनिधि विषय बन्न सक्छ, बन्नुपर्छ । कास्की प्रहरीले बितेका एक वर्षमा भएका अपराधहरुको फेहरिस्त प्रस्तुत गरेको छ । तथ्याङ्क केलाउँदा अपराधका शैलीहरु बदलिएका छन् । अपराधहरु बढेका छन् । कर्तव्य ज्यान मुद्दाका १७, ज्यान मार्ने उद्योग १४, जबर्जस्ती करणी ५७ सँगै लागूऔषध दुव्र्यसन, चोरी, बहुविवाहलगायतका घटनाहरुले समाजमा अपराध बढ्दै गएको प्रस्ट गर्छ ।

अपराध हिजो पनि हुन्थ्यो, शायद भविष्यमा पनि निर्मूल नहोला । तर, समाजमा अपराधका शैलीहरु बदलिनुलाई भने गम्भीर रुपमा लिनै पर्छ । हिजो मान्छेलाई ईश्वरको डर थियो, समाजको डर थियो अनि कानुनप्रति बढी विश्वास थियो । तर, पछिल्लो समय हाम्रा सामाजिक संरचनाहरु बदलिएका छन् । मानिसहरु एकाङ्की बन्न पुगेका छन् । मै खाऊँ, मै लाऊँ भन्ने मान्यताले आफ्नो जरा झन् बलियो बनाएको छ । सानो निहुँलाई लिएर जघन्य अपराध हुन थालेका छन् । बालबालिकाहरु अपराधमा बढी संलग्न हुन थालेका छन् । बहुविवाह, सम्बन्ध विच्छेद तथा लागूऔषकको दुव्र्यसनले समाजलाई गाँजेको छ । त्यति मात्रै नभएर आत्महत्या बढ्दो छ । कानुनले दण्डित नगरेर हैन, हाम्रा मूल्य र मान्यताहरु बदलिएर यो अवस्था आएको हो ।

अपराधीलाई कानुनले दण्ड दिन्छ । दण्ड दिँदैमा मात्रै अपराध घट्ने होइन । आपराधिक मानसिकतामा कसरी वृद्धि भयो भन्ने महत्वपूर्ण कुरा हो । आपराधिक मानसिकता बढ्नुमा समाज दोषी छ, बदलिँदो सामाजिक संरचना दोषी छ । अहिले समाजमा एक–अर्काप्रतिको निर्भरता घटेको छ । मानिस आफूले गरेको काम मात्रै राम्रो हो भन्ने मान्यतामा पुग्न थालेको छ । दैनिक १ हजारभन्दा बढी युवाहरु विदेशिँदा र रेमिट्यान्सले देशको अर्थतन्त्र धानिदा त्यसले नकारात्मक परिणाम पनि दिएको छ । पत्नी–पतिबीचको आत्मीयता हराएको छ । यो राम्रो संकेत हैन ।

हेर्दा अपराध र सम्बन्ध विच्छेदसँग रेमिट्यान्स र बदलिँदो सामाजिक अवस्थाको कुनै साइनो नभए जस्तो लागे पनि अपराधको मनोवृत्तिलाई व्यक्ति बाँचेको परिवेशबाट अलग्याउन सकिँदैन, मिल्दैन । उदाहरणको लागि अहिले युवाहरुमा सामाजिक सञ्जालको प्रयोग, आफ्ना अन्तरंग सम्बन्धको भिडियो रेकर्ड र सम्बन्धमा दरार आउनासाथ त्यो सम्बन्ध छताछुल्ल हुने जुन प्रवृत्ति छ, त्यो डर लाग्दो मात्रै छैन, बदलिँदो मनोवृत्तिसँग पनि जोडिएको छ ।

समाज डण्डा चलाएर मात्रै सुध्रन्न । समाज सुधार्न सामाजिक मूल्य र मान्यताहरु पनि सुधार्नुपर्छ । कास्की प्रहरीले यी र यस्तै विषयलाई ध्यान दिँदै केही मनोसामाजिक गतिविधि सञ्चालनको थालनी गरेको छ । वास्तवमा यो अभियान सकारात्मक छ । समस्याको जड के हो भन्ने बुझेपछि अपराध न्यूनीकरणमा सघाउँछ । प्रहरीले थालेको यो अभियानमा समाजको साथ चाहिएको छ । बदलिँदो समाजका विकृतिलाई रोक्न मनोसामाजिक परामर्श र परिवर्तिन समाजको गहिरो अध्ययन पनि आवश्यक देखिएको छ ।
– भरत नेपाल, कास्की, हाल: काठमाडौं ।

लागूऔषध नियन्त्रण गर
सिन्धुली जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या दोब्बरले वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकले देखाएको छ । जिल्लामा लागूऔषध ओसारपसारका घटनामा पनि वृद्धि भएको छ । प्रहरीले लागूऔषध नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले कार्यक्रम नै सञ्चालन गरेका छन् । उनले विद्यालयस्तरमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । तर, जिल्लाका स्थानीय तहले कुनै पहल नगरेको देखिन्छ । स्थानीय तहले लागूऔषध नियन्त्रणमा दीर्घकालीन योजना बनाउन सकिरहेको छैन ।

देशका केही स्थानीय तहले लाखौँ रकम खर्चेर लागूऔषध नियन्त्रणका लागि पहल गरिरहेको छ । तर, जिल्लाका स्थानीय तहले उपलब्धिमूलक कार्यक्रम ल्याउन सकिरहेको छैन । कमलामाई नगरपालिका हुँदै दर्जनौँ युवाहरु भारतको सीमामा पुगेर लागूऔषधको प्रयोग गर्ने गरेको पाइएको छ । उनीहरुले भारतमै लागूऔषध सेवन गरी सिन्धुली फर्किने गर्दछन् । लागूऔषध प्रयोग गर्दा मुख नगनाउने हुँदा लागूऔषध प्रयोग गरेको ठ्याक्कै पहिचान गर्न अप्ठ्यारो हुन्छ । यस्तो अवस्थामा जिल्लामा लागूपदार्थ सेवन जाँच गर्न सके लागूऔषध प्रयोगकर्ताको पहिचान गर्न सकिन्छ ।

यस्तो हुन सके प्रयोगकर्ताहरुलाई आवश्यक परामर्श गर्न सकिन्छ । आवश्यक परेमा कार्वाहीको दायरामा ल्याउन पनि सकिन्छ । उनीहरुमाथि केरकार गर्न सके मनोबल कम हुने आँकलन गरिएको छ । तर, लापसे जाँच गर्ने लापसे किट महँगो हुने हुँदा प्रहरीले उक्त किटको प्रयोग गर्न सकिरहेका छैन । स्थानीय तहले प्रहरीसँग समन्वय गरेर लापसे किट भित्र्याउन सके केही हदसम्म लागूऔषध प्रयोगमा कमी आउने देखिन्छ । तसर्थ, लागूऔषधविरुद्धको योजना बनाउन स्थानीय तह गम्भीर हुन जरुरी छ । त्यसै गरी, परिवारले पनि आफ्ना सन्तानको अवस्थाका बारेमा सचेत हुन आवश्यक छ । अतः लागूऔषधरहित जिल्ला बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट कदम चाल्न जरुरी छ ।
– सरोज केसी, सिन्धुली, हाल: पाल्पा ।

प्रतिक्रिया दिनुहोस्