कांग्रेस महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण



काठमाडौं, (नेस) ।
नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिलाई दुईदिने प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले महाधिवेशन प्रतिनिधिहरुका लागि सातवटै प्रदेशको १२ स्थानमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानका सचिव मुक्ति आचार्यका अुनसार प्रशिक्षण साउन १६ गतेदेखि सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण गर्न डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । यो समितिमा डा. आरजु राणा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा सदस्य रहनुभएको छ ।

बैठकले नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । तर, यसको मिति भने तोकिएको छैन । बैठकले तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको थियो । यो समितिको सदस्यहरुमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन रहनुभएको छ ।

आइतबारको बैठकले स्रोत व्यवस्थापन समिति पनि गठन गरेको सचिव आचार्यले जानकारी दिनुभएको छ । खिलानाथ दाहालको संयोजकत्वमा गठित यो समितिमा सुभाष पोखरेल, डा. प्रभु बुढाथोकी, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्दार र योगराज शर्मा कँडेल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्