सविता बरालको तीज गीत ‘झल्को आमाको’ सार्वजनिक(भिडियो)



पोखरा । नारीहरूको पर्व हरितालिका अर्थात् तीज नजिकिंदै छ । माइतीमा जाने, राम्रो लगाउने, मीठो मसिनो खाने र गीतसंगीतमा रमेर दुःख बिर्सने तीजको मौलिक परम्परा हो । यद्यपि तीजको मौलिकता हराउँदै गएको छ, आजभोलि । पर्व आरम्भ हुनुपूर्व नै तारे होटलमा दर खाने र डिस्को डान्समा रमाउने प्रचलन बढ्दो छ ।

खासमा पाश्चात प्रभाव र उत्तरआधुनिकतावादले तीज पर्व निकै भड्किलो बन्दै गएको छ । र, अर्कोतर्फ तीजमा गाइने गीतको कथावस्तु, मौलिकता र गायनशैलीमा समेत परिवर्तन आएको छ । यसले लोकसंस्कृतिका अध्येताहरुलाई चिन्तित बनाएको छ । अहिले बजारमा आएका गीतहरूमा पनि तीजको मौलिक गन्ध नै लोप भएको अध्येताहरू बताउँछन् । यो उत्तरआधुनिकतावाद हो । यही भीडमा लोकसंस्कार र साँस्कृतिक पद्दतिलाई परिवर्तन गरिनुपर्ने सन्देश बोकेर लोक गायक शिवहमालको शब्द संकलन लोकगायिका सीता केसी र सामाजिक अभियन्ता सविता बरालको स्वरमा हालै नयाँ गीत ‘झल्को आमाको’ सार्वजनिक भएको छ ।

म्यूजिक भिडियो समेत तयार भएको गीतमा परिवर्तित समय अनुसार चल्न आमाहरूलाई सन्देश दिने प्रयास गरिएको छ । विशेषतः दाजूभाईले भन्दा छोरीचेलीले आमाहरूको हेरचाह बढी गर्छन् । बिहेपछि दाजूभाई स्वार्थी हुन्छन् । त्यस्तो हेलाँ होचो सहेर नबसन्न आमाहरूलाई आग्रह गरिएको छ ।

अहिले समय पनि परिवर्तन भइसक्यो । संविधानमै समानताको हकलाई मौलिक हकका रूपमा व्याख्या गरिएको छ । छोरा सरह छोरी पनि कमाउने हैसियतमा छन् । र, अब त्यस्तो बुहार्तन सहेर नबस्न र छोरीहरूको घरमा गएर बस्न गीतमार्फत् आव्हान गरिएको छ ।

खासमा पारिवारिक मोह स्वार्थको जालो हो । बिहेआदि गरेपछि अधिकाँश मान्छेहरू स्वार्थी हुन्छन् । अझ नेपाली समाजमा ‘बिहेपछि छोरो आफ्नो हुँदैन’ भन्ने पुरानो भनाई छ । बिहेपछि श्रीमतीको कुरा सुन्ने र आमालाई हेलाँ होचो गर्छन् । राम्ररी स्याहारसुसार पनि गर्दैन् भन्ने आरोप दाजूभाईमाथि थोपार्ने प्रयास गीतमा देखिन्छ । र, त्यस्तो अवस्थामा किरिया गर्ने छोरोले जे भने पनि सहन्छु भनेर बस्नु पर्दैन । छोरीहरूले पनि दाजूभाई सरह नै किरिया गर्ने प्रचलनमा आएको कुरा गीतमा व्यक्त भएको छ ।

समग्रमा गीतले सामाजिक चेतना जगाउने र पुरातन संस्कारलाई परिवर्तन गरिनुपर्ने आवाज बुलन्द पारेको छ । यद्यपि गीतमा बुबामाथि अन्याय भएको छ । यस गीतमा बुबालाई कही कतै सम्बोधन गरेको छैन । तथापि गीतले प्रभाव गर्ने खोजेको सन्देश स्पष्ट छ । र नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको देखिन्छ । प्रकाश भट्टकोे निर्देशन राजेश घिमिरेको छायांकनमा तयार गरिएको गितमा सम्पादन बिष्णु शर्मा र अभिनयमा राधिका सिग्देल, सविता बराल, विन्दु वाग्ले, मन्जु गुरुङ, प्रिति केसीे, शिला सिग्देल, राममोहन आचार्य, राजेन्द्र बराल लगाएतको रहेका छन् । गितलाई साई भिजन प्रालीकोे दृष्य निमार्ण र कुमार रानाले अडियो मिक्सीङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्