प्रधानसेनापति थापा र बंगलादेशका मेजर जनरल चौधरीबीच भेटवार्ता



काठमाडौँ ।
प्रधानसेनापति पूर्णचन्द्र थापा र बंगलादेशको राष्ट्रिय रक्षा कलेजका मेजर जनरल नकिभ अहमेद चौधरीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा आएका चौधरीसहितको टोलीसंग थापाले आइतवार जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

उक्त भेटवार्तामा उहाँबीच दुई पक्षीय आपसीहितका विषयमा छलफल भएको थियो । भेटवार्ता पश्चात भ्रमणदललाई जंगी अड्‍डामा युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग गराईएको थियो ।

सो भ्रमणदलले आज बिहानै प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

बंगलादेशी सेनाका मेजर जनरल चौधरीको नेतृत्वमा २७ सदस्यीय भ्रमण दल शनिवार नेपाल भ्रमणको लागि काठमाडौँ आईपुगेको हो । उक्त भ्रमणदलले राष्ट्रिय सुरक्षा परिषद् लगायत पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाईएको छ । चौधरीको टोली बिहीवार बंगलादेश फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्