पलेँटीमा संगीतकार विक्रम गुरुङ



काठमाडाैँ ।

यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाण्डौ आइपुगेका छन् ।

संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन् । विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा वित्यो । प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन् । कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी शुरुमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए । गण्डकी बोर्डिङ स्कुलमा कक्षा दशसम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज न्यासनल हाइस्कुलबाट गरे ।

विक्रम सानै उमेरदेखि संगीतमा जिज्ञासु भएरै हो किशोर अवस्थामै बिना बाजागाजा गुनगुनाएर धुन बुन्ने प्रयास गर्थे । पलेँटीको निम्ति गाउने अभ्यास गरिरहेका उनीलाई आफ्नो सुरुका दिन सम्झन अनुरोध गर्दा भन्छन्- ‘मैले ट्युन गर्न पहिलो कोसिस गरेको त ‘फेरि उसैका लागि’ मा रहेका राजा महेन्द्रका शब्दहरूबाट हो; बिना गाजागाजा । त्यो संगीतप्रतिको मेरो रहरको जिज्ञासु चरण थियो ।‘

वि.सं. २०३३-३४ सालपछि भने उनको सांगीतिक रुचिले नयाँ मोड लियो । त्यो नयाँ मोडमा पुर्‍याउने पात्र भने गायक अरुण थापा थिए । अरुणको स्वर त्यतिबेला मौलिक रचनामा प्रवेश भएकै थिएन । उनी रेडियो र फिल्ममा चलेका हिन्दी, नेपाली गीत गाउँथे । उनको गायकीको चर्चा सँगै पोखरामा रहेका संगीत र साहित्य प्रेमीहरूको चहलपहल बढ्यो । त्यही चहलपहलले पोखरेली युवा सांस्कृतिक परिवारको जन्म भयो । संगीतकार विक्रम त्यही विगतलाई सम्झँदै भन्छन्- ‘अरूणसँगको भेटपछि भने पो.यु.साको जन्म भयो । विभिन्न कार्यक्रमहरू आयोजना हुनथाले । त्यसका निम्ति नेपाली गीत बनाउनु पर्छ भन्ने सोच आयो र मैले पनि अरुण सँगसंगै बसेर संगीत सृजना गर्ने जाँगर चलाएँ ।‘

संगीतकार विक्रमले सृजना गरेका तीनवटा गीत मात्र अरुणले गाएका छन् । ती तीनवटै गीतले लोकप्रियता र बौद्धिक जमातको प्रसंसा दुबै बटुले । ‘भुलुँ भलुँ लाग्यो मलाई’ ले त लोकप्रियताको उचाइ नै चुम्यो साथै ‘आँखाको निँद खोसी लाने’ र ‘कतै टाढा तिमीबाट भुलेँ भने’ ले पनि राम्रो प्रसंसा पाए । अरूण र विक्रमको सांगीतिक सहकार्यमा निकै ठूलो सम्भावना रहेको थियो तर त्यो सम्भावनालाई समयले साथ दिएन । उच्च शिक्षा हासिल गर्न विक्रम काठमाण्डौतिर लागे । किर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । अरुण भने पोखरामै रहे । केही अन्तरालमा अरूण पनि काठमाण्डौ उपत्यका त आए तर पोखराको जस्तो सांगीतिक जमघट भने हुन सकेन । साँगाको प्रहरी विद्यालय हुँदै अध्यापन पेशामा प्रवेश गरेका विक्रमलाई त्यही पेशाले हङकङ पुर्‍यायो । संगीतबाट उनी टाढा नै त भएनन् तर त्यसमै तल्लिन रहन पनि पेशा र समयले साथ दिएन ।

‘अरूणकै निम्ति भनेर केही गीत तयार पनि गरेँ र काठमाण्डौमै रेकर्ड गर्ने तयारी पनि भयो । म्युजिक ट्रयाक पनि बने तर अरूण हराइरहेको बेला थियो त्यो । अरूणको स्वास्थ्य खस्किसकेको बेला थियो । उनको मनले गाउन खोज्थ्यो तर शरीरले साथ दिन सकेन । ती ट्रयाकहरू त्यत्तिकै थन्किए ।‘ तिनै गीतको संयोजन गरेका सहयोगी संगीतकार अम्बर गुरुङ ‘पोखरेली’ तिर फर्कँदै विक्रमले अरूणका पछिल्ला क्षण सम्झिए ।

पलेँटीमा आउने शुक्रबर, शनिबार र आइतबार तिनै क्षण र सांगीतिक यात्राको सम्झना गर्दै आफ्ना गीत प्रस्तुत गर्ने तयारीमा छन् संगीतकार विक्रम गुरुङ । ‘पलेँटीले शब्द लेख्ने र धुन भर्नेहरूलाई प्रस्तुत गर्ने क्रममै मलाई पनि निम्त्याएको हो भन्ठान्छु । यो मञ्चमा नेपाली आधुनिक संगीतका धेरै योगदानकर्ताहरू प्रस्तुत भइसक्नु भएको छ । यो मञ्चले नेपाली आधुनिक संगीतको प्रतिष्ठा उठाउन गरेको अभियानमा जोडिन पाउनु खुशीको कुरा हो ।’ आफ्ना धेरैजसो गीत आफैँ गुनगुनाउने तयारीमा रहेका गुरुङ भन्दै थिए । उनलाई महिला गायनतर्फ भने गायिका मीना निरौलाले साथ दिनेछिन् ।

‘पलेँटी मार्फत् विक्रम दाइसँगको संगतलाई अझ परिमार्जित गर्न पाउनु एउटा छुट्टै सांगीतिक रचनाको अध्ययन गर्नु जस्तै हो । उहाँले संख्यामा थोरै गीत बनाए पनि तिनको मिठास र गुणले म सँधै आकर्षित भएको छु ।’ पलेँटी संयोजक आभासले भने ।

यही महिनाको १० गते शुरु हुने विक्रम गुरुङसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले संगीतकार विक्रम गुरुङको सांगीतिक जीवनको सेरोफेरोमा रहेर अन्तरसम्वाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा संगीतकार गुरुङलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा पारस, बाँसुरीमा बलराम समाल र बेस गिटार मा अम्बर गुरुङ ‘पोखरेली’ले साथ दिनेछन् ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ ।

कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइनफोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको  छ । त्यसकानिम्ति www.thuprai.com साथै [email protected] र ९८०३९१९२६६ मा सम्पर्क गर्न सकिने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।

यही जुलाई महिनाको२६२७ र २८ तारिखमा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल आर.शालामा प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्