दार्चुलामा ३ हजार ९ सयले नागरिकता लिए



किरन धामी, दार्चुला । सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला जिल्लाका ३ हजार ९ सय जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । एक आर्थिक वर्षको अवधिमा सो संख्यामा रहेका दार्चुलाका नागरिकले नागरिकताको प्रमाण पत्र लिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७५/०७६ को साउन देखी हाल सम्ममा २ हजार १ सय १५ जना पुरुष तथा १ हजार ७ सय ८५ जना महिलाले वंशजको नागरिकता लिएको उहाले बताउनु भयो ।

यस्तै गत आवमा १८ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधीमा १ हजार ६ सय ६३ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको छ, भने ४३ वटा नावालक परिचय पत्र वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट २ सय ४७ जना पुरुष तथा २४ जना महिला गरी २ सय ७१ जनालाई राहादानी वितरण गरिएकोमा ८ सय २६ जना पुरुष तथा ७३ जना महिला गरी ८ सय ९९ जनाको राहादानीका लागी केन्द्रमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिनुभयो ।

यसैगरी १ सय १७ हातहतियार नविकरण गरिएको छ, भने ६ वटा हातहतियार नामसारी गरिएको उहाले बताउनु भयो । यस वर्ष १ सय २० जना पुरुष तथा १३ जना महिलालाई ताक्लाकोट प्रवेश अनुमति पत्र वितरण गरेको उहाले बताउनु भयो । १ सय १७ जनाको प्रवेश अनुमती पत्र नविकरण गरिएको छ ।

जिल्लामा यस वर्ष ५ वटा पत्रपत्रिका, १५ वटा संघ संस्था दर्ता र ४७ संघ संस्था नविकरण भएका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानमा घुम्ती शिविर मार्फत नगारिकता वितरण गरेको जिल्लाको ४ स्थानमा घुम्ती शिविरको आयोजना गरि नागरिकलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी विष्टको भनाई छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका कुल मुद्धा १६ मध्ये १० थान मुद्दा फछर्यौट भएका छन्, भने आर्थिक वर्ष २०७४/०७५ बाट जिम्मेवारी सरी आएका ६ थान मुद्धा र यस वर्षका ६ थान गरी १२ थान मुद्धाहरु फछर्यौट हुन बाकी रहेको उहाको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत आर्थिक वर्ष २०७५/०७६ मा पुजीगत बजेटको ९३ दशमलव १७ प्रतिशत खर्च गरेको छ, भने साधारण तर्फ ७१ दशमलव ६९ प्रतिशत खर्च गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्