डुबान प्रभावित बस्तीमा सर्पको बिगबिगी



सरोज यादव, विराटनगर ।
विराटनगरका बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टे प्रकोप बढेकाले बाढी प्रभावितहरू थप त्रसित भएका छन् । डुबान कम भएपछि घर फर्खिएका बाढीपीडितले सर्प र लामखुट्टेको कारण रातभर सुत्न नसकिएको बताएका छन् ।
सात दिनअघि आएको बाढीले डुबानमा परेका बस्तीहरुमा अहिले सर्प र लामखुट्टेको बिगबिगी बढेको हो । विराटनगर महानगरपालिकाभित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कन थालेपछि स्थानीहरु त्रसित भएका छन् । त्यस्तै लामखुट्टेको प्रकोप पनि अति नै बढेको विराटनगर–१२ का किरण यादवले बताउनुभयो । बाढीले विस्थापित भएकाहरुले पानी घटेपछि घर पुगे पनि सर्प र लामखुट्टेको कारण झनै आजित भएको बताउँछन् ।

सबैभन्दा पीडित भएका सुकुम्बासीले बेलुका सुत्न नसकिने अवस्था सिर्जना भएको बताएका छन् । पानी कम भएपछि तत्काल लामखुट्टे नियन्त्रण गर्न महानगरसँग औषधी छर्न मागसमेत गरेका छन् । स्थानीय राजु कामतले घरमा सर्पको संख्या दैनिक बढेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।’ ‘पानी सुकेपछि घर गइयो’, विराटनगर–१९ का मञ्जु साहले भन्नसभयो– ‘दिनभर खेतमा काम गरेर घर फर्किदा घरमा सर्पको बास देखिन्छ सर्पलाई बाहिर खेदेर सुत्ने तरखर गरो लामखुट्टेले रातभर सुत्न दिदैन ।’


श्रीदेव खत्रीले बेलुका भएपछि सबै सडकमा प्रायः विषालु सर्प देखिने गरेको बताउनुभयो । बाहिर निस्किन समेत समस्या हुने गरेको उहाँको भनाइ थियो । हालसम्म सर्पले कसैलाई नडसे पनि तत्काल नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बाढी प्रभावित क्षेत्रबाट बिरामी भने नआएको बताउनुभयो । उहाँले सर्प दंशका बिरामी बाढी आएपछि नबढेको बताउनुभयो । उहाँले नियमित रुपमा तीन देखि चार जना भने सर्प दंशका बिरामी आउने गरेको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बाढीले डुबानमा परेका क्षेत्रमा सरसफाइ गरी सबै समस्या नियन्त्रण गर्नेतर्फ लागेको बताउनुभयो । महानगरमा एक हजारको हराहरीमा विस्थापित भएका थिए । विस्थापितलाई विद्यालय र सुरक्षित स्थानमा राखेर खाना खुवाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्