साप्ताहिक राशिफल: साउन ५ देखि ११ गतेसम्म



मेषः
यो साता तपाईंका लागि त्यति फलदायक देखिँदैन । हुन लागेका काम पनि रोकिने सम्भावना छ । आफन्तजनबाट धोका मिल्न सक्छ । आर्थिक भारले गर्दा तनाव झेल्नुपर्ला । स्वास्थ्यले समेत साथ नदिन सक्छ । तर आइतबार, बिहीबार र शुक्रबार भने तपाईंले सफलता हासिल गर्न सक्नुहुनेछ । प्रयास गरेमा कतैबाट केही आम्दानी हुन सक्छ । सम्मान एवम् पुरस्कार प्राप्तिको सम्भावना छ ।

वृषः
तपाईंका लागि यस साताका शुरुका दिनहरु धेरै फलदायक देखिन्छन् । आर्थिक लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता होला । राज्यबाट लाभ, कूटनीतिक प्रयास सफल, धनलाभ, मानसिक सन्तुष्टि हुने देखिन्छ । प्रतिस्पर्धामा विजय नहोला भन्न सकिन्न । तर बिहीबार र शुक्रबार भने वायुजन्य रोग ग्यास्टिकले सताउन सक्छ । दौडधुप, तनाव एवम् लखतरान परिएला । पारिवारिक विवाद हुनसक्छ ।

मिथुनः
तपाईंका लागि यो साता सुख–समृद्धिदायक छ । बोलीबचनमा सरस्वती बस्नाले बोलेको लाग्ने, आर्थिक लाभ हुने, सुख–सन्तोष हुनेछ । राज्यको सेवा–सुविधा प्राप्त हुने, राजनीतिक सक्रियतासमेत बढ्नेछ । आफ्नो गरिरहेको व्यवसायबाट यथेष्ट फाइदा हुनेछ । मान–प्रतिष्ठा बढ्नेछ । तर आज आइतबार र साताको अन्त्य शनिबार भने आर्थिक नोक्सानी, अस्वस्थता एवम् तनाव होला ।

कर्कटः
यो साताको पूर्वार्ध अर्थात् बुधबारसम्म समय त्यति सन्तोषजनक छैन । सामान्य रोगले सताउला । चिताएभन्दा बढी खर्च होला । हरेक काममा बाधा–व्यवधान नआउला भन्न सकिन्न । राजनीतिकर्मीबाट धोका पाइने सम्भावना छ । तर बुधबार दिउँसोबाट समयले साथ दिनेछ । निरोगिता, सुखशान्ति, नचिताएको कुरा प्राप्ति, परिवारबाट सुख–सन्तोष होला । आर्थिक लाभ हुनाले मन प्रफुल्लित हुनेछ ।

सिंहः
तपाईंका लागि यो साता त्यति शुभ फलदायक देखिँदैन । मान–सम्मानमा आघात पर्ने सम्भावना छ । गरेका कार्यहरु सफल हुन कठिन होला । निरर्थक खर्च, अनावश्यक हैरानी बेहोर्नुपर्ला । रुघाखोकीले सताउन सक्छ । परिश्रम धेरै तर प्रतिफल कम प्राप्त हुनेछ । तर आज आइतबार र साताको अन्त्य शनिबार भने सुख–सन्तोष हुने, स्वास्थ्य तन्दुरुस्त हुने, आर्थिक लाभ हुने सम्भावना छ ।

कन्याः
यो साताको पूर्वार्ध अर्थात् बुधबारसम्म समय उत्तम फलदायक छ । निरोगिता, सुखशान्ति, नचिताएको कुरा प्राप्ति, परिवारबाट सुख–सन्तोष होला । आर्थिक लाभ हुनाले मन प्रफुल्लित हुनेछ । तर बुधबार दिउँसोबाट समय प्रतिकूल छ । अस्वस्थताको सम्भावना छ । चिताएभन्दा बढी खर्च होला । हरेक काममा बाधा–व्यवधान नआउला भन्न सकिन्न । राजनीतिकर्मीबाट धोका हुन सक्छ ।

तुलाः
तपाईंका लागि यो साताका प्रायः सबै दिनहरु उपलब्धिमूलक देखिन्छन् । व्यापार व्यवसाय गरेको भए मनग्य फाइदा होला । जागिरे भए पदोन्नतिको सम्भावना, विद्यार्थी भए पठनपाठनमा सफलता हुने देखिन्छ । साथै सामान्य परिश्रमबाट पनि नचिताएको धन वा पैसा प्राप्तिको सम्भावना छ । तर आज आइतबार र साताको अन्त्य शुक्रबार भने समय अनुकूल देखिँदैन । बाधा–व्यवधान आइलाग्नेछ ।

वृश्चिकः
यो साताको मध्यभागसम्म समय अनुकूल छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । गर्न लागेका काममा बाधा–व्यवधान आउला । राज्य वा राजनीतिज्ञ तपाईंको अनुकूल हुनेछैनन् । तर बुधबार दिउँसोदेखि भने तपाईंको भग्योदय हुनेछ । स्फूर्ति बढ्नेछ । लाभदायक कामहरु हुनेछन् । मन प्रफुल्लित हुनेछ । आर्थिक लाभ हुने सम्भावना छ । सानो प्रयासले पनि ठूला कार्य गर्न सकिएला ।

धनुः
यो साताका धेरैजसो दिनहरु शुभ फलदायक देखिँदैनन् । आज आइतबार र अन्त्यको शनिबार प्रयास गरेमा उन्नति–प्रगति होला । सुख–सन्तोष एवम् रमाइलो होला । तर बाँकी सबै दिनहरु तपाईंका लागि अनुकूल देखिँदैनन् । विभिन्न आरोप सहनुपर्ला । दुःख–कष्ट, स्वास्थ्यमा समस्या, इज्जत–प्रतिष्ठामा आघात, राज्यबाट भय हुने सम्भावना छ । साथीभाइ, इष्टमित्रबाट धोका पाइन सक्छ ।

मकरः
तपाईंका लागि यो साताका मध्यदिनहरु उपलब्धिमूलक छन् भने अन्त्यका दिनहरु त्यति फलदायक देखिँदैनन् । सोमबारदेखि बुधबारसम्म आर्थिक लाभका साथै काम गर्ने हौसला जाग्ला । प्रतिष्ठा बढ्ने, आम्दानी हुने सम्भावना छ । तर अन्य दिनहरुमा भने के गरौं र कसो गरौंको स्थिति आउला । काममा बाधा–व्यवधानका साथै अनेक झमेला आइलाग्न सक्छ । खर्च वृद्धिको सम्भावना छ ।

कुम्भः
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । आज आइतबार समयले साथ दिन सक्छ भने भोलिदेखि बुधबारसम्म समय अनुकूल छैन । हुन लागेका काममा बाधा–व्यवधान आउन सक्छ । अनावश्यक खर्च, तनाव, झैझगडाको सामना गर्नुपर्ने हुन सक्छ । स्वास्थ्यमा समेत गडबडी हुन सक्छ । बिहीबारबाट समस्याहरु समाधान हुँदै जानेछन् । मान–सम्मान बढ्ने, आम्दानी हुने सम्भावना छ ।

मीनः
तपाईंका लागि यो साता मिश्रित फलदायक छ । आज आइतबार समय अनुकूल देखिँदैन भने सोमबारदेखि तीन दिनसम्म समय बलियो छ । गरेका काम सफल हुनेछन् । भोजभतेरमा सहभागी भइएला । कतैबाट केही भए पनि आम्दानी होला । तर बिहीबार र शुक्रबार स्वास्थ्यमा समस्या आउन सक्छ । हुन लागेको काममा बाधा आइपर्न सक्छ । सजगता अपनाउनुपर्ला ।

प्रतिक्रिया दिनुहोस्