महिला हिंसाको मूल कारण यौन सम्बन्ध नै हो



डा.रेणु अधिकारी
चिकित्सक, मानवअधिकार रक्षक
नेपालमा महिला अधिकारका क्षेत्रमा आजका मितिमा सर्वाधिक सक्रिय महिलाको सूची बनाउँदा डा. रेणु अधिकारीको नाम कति नम्बरमा आउला ? ठ्याक्कै नम्बर भन्न नसकिए पनि एकै हातका औंलामा उहाँ समेटिनुहुन्छ भन्न अलमलिनुपर्दैन । स्त्री रोग विशेषज्ञ अधिकारीलाई रेणु राजभण्डारीका नामले चिन्नेहरु पनि धेरै छन् । तर, अहिले उहाँ राजभण्डारी हुनुहुन्न । त्यसो त, यो अन्तर्वार्ता व्यक्तित्वमा केन्द्रित नभएर विषयमा केन्द्रित छ । विषय हो– यौनिकता वा यौनअधिकार, जसमा खुलेर सम्बाद गर्न नेपाली समाज आजपनि चाहँदैन । यस हिसाबले नेपाल समाचारपत्रका कपिल काफ्ले र भगवती तिमल्सिनाले दुर्लभ पात्र हात पारेका छन् अन्तर्वार्ताका लागि:

डाक्टरसाब अहिले के गर्दै हुनुहुन्छ ?
म अहिले तरंगिनी नामको संस्थामा आवद्ध छु । राज्यको पुनःसंरचनापछि स्थानीय तहमा अधिकार पुगेको अवस्थालाई सदुपयोग गर्दैछु । स्थानीय तहको नेतृत्व महिलामैत्री र लैङ्गिक समानताका पक्षमा उभियो भने मुलुकमा उल्लेखय प्रगति हुनेमा म विश्वस्त छु । खासगरी, महिला अधिकारका क्षेत्रमा काम गर्ने अभ्यास भयो, केही सिकियो, जीवनभर यही काममा समर्पित हुनुछ । हाल पालिकाहरुमा महिला अधिकारका क्षेत्रमा काम गर्नु निकै आवश्यक पनि छ ।

सामाजिक रुपमा सोच रुपान्तरण नभै महिला अधिकारमा सुधार र महिला हिंसाको अन्त्य हुन्न भन्ने मेरो २८ बर्षको अनुभवले बोल्छ । अहिले यो परिवर्तन गर्नसक्ने निकाय भनेको पालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यहरु नै हुन् । योजनाहरु लैङ्गिक समानता सचेत बनाउन सकेमा ५ देखि १० बर्षमा वातावरण नै परिवर्तन हुनेछ भन्नेमा म विश्वस्त छु र उत्साहित भएर लागेकी छु ।

पितृसत्ता र पुरुषत्वलाई कसरी आन्दोलनको राजनीतिक कडी बनाउनुभएको छ ?
महिला आन्दोलनमा तहगत रुपमा थुप्रै आधार तय भएका छन् । पितृसत्ता एउटा महत्वपूर्ण पक्ष हो, तर सबै यो मात्र होइन । पुरुषत्व पनि त्यस्तै हो । समाजमा पितृसत्ता र पुरुषत्वले महिलामाथि विभेद गरेको, उनीहरुको कामलाई प्राथमिकता नदिएको यथार्थ हो । सामन्ती पूँजीवादी पितृसत्ताले हाम्रो समाज जर्जर भएको छ । आफूलाई कम्युनिष्ट र प्रगतिशील भन्ने पार्टीहरुपनि यसबाट ग्रस्त छन् । महिलाको कामलाई प्राथमिकता नदिएकोले समाजमा विभेद कायम रहेको हो । राजनीतिक परिवर्तनहरुले लैङ्गिक असमानताको पक्षलाई समेट्न सकेन, यस समस्याको सम्बोधन नै भएन ।

यति धेरै महिलाहरु नेतृत्वमा आइरहेका छन्, कसरी सम्बोधन भएन भन्नुहुन्छ ?
लैङ्गिक समानताका पक्षमा जे अपेक्षा गरिएको थियो, त्यो पूरा भएको छैन । विगतको तुलनामा महिला अधिकारको क्षेत्रमा काम गर्ने संघ–संस्था खुलेका छन्, राम्रो हो । तर नागरिक समाजका संस्थाहरु कति पारदर्शी छन्, हेर्नुपर्छ । सरकारले आरक्षणका नाममा महिलाका लागि केही अवसर दिलाएको छ, तर त्यो संख्यात्मक मात्र छ । समस्या प्रवृत्तिमा छ । उदाहरण लिनुस् न, लेफ्ट गर्भरमेन्ट भएको बेला काम गर्न सजिलो हुन्छ भन्ने थियो । तर, सामन्ती चिन्तन जहाँको त्यहीं छ । भर्खर देशका ठूला भनिएका व्यक्तिले आफूसँग सहमत नहुनेहरुलाई ‘छौंडा’ भनिदिएका छन् । यसले सरकारका मान्छेको सोच र मानसिकता देखाउँछ ।

हामी समृद्धिको कुरा गरिरहेका छौं, महिला र पुरुष दुबैको सहभागिता समान हुनुपर्छ भनिरहेका छौं, यसो भएमा मात्र महिलाको राजनीतितर्फ एक तह अघि बढ्छ । समृद्धिभित्र स्वास्थ्य आउनुपर्छ । सबैका लागि समान स्वास्थ्य अधिकारका कुरा गर्दा महिलाको आफ्नो शरीभित्र अधिकार सुरक्षित नहुँदासम्म सम्भव छैन । यस्ता खालका मसिना–मसिना बिषयलाई योजनामा आउँनुपर्छ, अनि मात्र लैंगिक समानता सम्भव छ ।

मानवअधिकारको विश्वव्यापी घोषणा जो १९४८ मा गरियो, ले त अभिव्यक्तिको भाषामा लैंगिक समानता देखाउन सकेन, मानव जातिका लागि तटस्थ शब्द प्रयोग नगरेर पुरुष जनाउने शब्द ही र हिमको प्रयोग गरेको छ, अरुबाट के अपेक्षा गर्ने ?
मानवअधिकारको विश्वव्यापी घोषणा एक सांकेतिक दस्तावेज मात्र हो, यसका आधारमा पछि आएका राष्ट्रसंघीय घोषणाहरुमा नै लैङ्गिकमैत्री शब्दको प्रयोग हुनसकेको छैन । नेपाल मात्र होइन, सारा विश्व पितृप्रधान छ । यसलाई चिर्न विश्वव्यापी अभियानहरु चलिरहेका छन् ।

यस अभियानसँगै लैंङ्गिक मैत्री आन्दोलनमा नेपाल पनि सक्रिय हुनुपर्छ । विश्व पितृप्रधान छ भनेर, हामीले पनि यही गलत संस्कार सिक्नुपर्छ भन्ने छैन । संरचनागत विभेद सामाजिक संचनाभित्रै भएको बुझेर यसलाई राजनीतिक आन्दोलनका साथ चिर्नुपर्छ ।

कसले भन्यो महिलालाई महिनावारी सुकेपछि यौनईच्छा हुँदैन भनेर ? यो शतप्रतिशत गलत हो । महिलाहरु पनि ८० वर्षसम्म पनि यौन क्रियाकलापमा सक्रिय हुनसक्छन् । नेपालमा महिलाहरु छिटो निस्क्रिय हुनाको कारण अर्कै छ, शुरुदेखि नै उनीहरुको यौनक्रियाकलाप पीडादायी हुन्छ । यसकारणले नैराश्यता शुरु हुन्छ । त्यसका साथै आवश्यकता अनुसारको बच्चा भैसकेपछि अब केका लागि चाहियो र ?

विभेदकारी संरचनालाई चिर्न स्थानीय निकायलाई कसरी कुरा बुझाउँदै हुनुहुन्छ ?
मैले केही मूल मुद्दा उठाउने प्रयास गरेकी छु । सातवटै प्रदेशमा महिला अधिकारका मुद्दामा पहिचान, श्रम र शरीरमाथिको अधिकारका बिषयमा मुद्दा उठाउने गरेकी छु । यस विषयमा निरन्तर पैरवी गर्नुपर्छ । जहाँ बुझाउन सकिएको छ त्यहा शक्ति विभाजन छ । तर, उपलव्धि एक दिनमा सम्भव हुने विषय होइन ।

ललितपुरको गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी आफ्नै श्रीमान्को हिंसाबाट पीडित भएको समाचार बाहिर आयो, तर उहाँले नै न्याय पाएको देखिएन । अरुको के कुरा गर्नु ?

अहिलेको कानुनी प्रावधान र न्याय पाउने प्रक्रिया नै असहज बनाइरहेको छ । महिला आफैले बोल्न खोज्दा र बोल्न चाहँदा पनि वातावरण छैन । उदयपुरमा पनि एक जनप्रतिनिधि यस्तै समस्यामा छिन्, वालुवाटारसम्म यी समस्या नपुगेका होइनन् । सकारात्मक सोचको वातावरण बनेकै छैन ।

वातावरण कहिले र कसरी बन्छ ?
पीडित व्यक्तिलाई कानुनी लडार्इंमा जाने पूर्वाधार खडा भएपछि नै वातावरण तयार हुन्छ । महिलाले विषय उठान गर्नासाथ त्यसलाई सुन्ने परिवेश चाहिन्छ । उजुरीमा निस्केका महिलाको संरक्षण र सुरक्षाको व्यवस्था हुनुपर्छ । कानुनतः जुनसुकै बेला महिला खुल्न चाहँदा सुनुवाइ हुने संरचना खडा हुनुपर्छ । अहिले यौन हिंसाका सबालमा एक बर्षसम्म उजुरी गर्न पाउने वातावरण बनेको छ । विगतको तुलनामा राम्रो हो, तर पीडित महिलालाई प्रमाण जुटाउनै नसक्ने बनाएर पीडा दिइन्छ । यस अवस्थामा समुदायलाई सचेत बनाउँदै कानुन तयार पार्नुपर्छ ।

पीडकसँगै एकै घरमा बसेर कसरी संघर्ष गर्ने ?
हो, समाजले महिलालाई नै कमजोर देखाउँछ र अदालतमा जाँदासम्म पनि कानुनको आँखाले भन्दा समाजको आँखाले हेर्ने गरिन्छ । सकिन्छ भने मिलापत्र गराउने र पीडकलाई उन्मुक्ति दिने गरिन्छ । म जत्तिको व्यक्तिलाई त समाजले यस्तो के गरेको भनेर निरुत्साहित बनायो भने आम महिलाको अवस्था सहजै अनुमान गर्नसकिन्छ । यति मात्र नभै पीडक पुरुषले सार्वजनिक रुपमा महिलालाई धम्की, अपमानको भाषा बोल्दा समेत समाज रमिते बन्छ । यसकै लागि महिलालाई आफ्नो शरीरको अधिकार चाहिएको हो ।

समाजमा पुरुषले चाहँदा यौन सम्पर्क हुने, महिलाले चाहना नै व्यक्त गर्न नसक्ने । परिवारमा श्रीमान् र ससुराले चाहेका कारण बच्चा पाइदिनुपर्ने, श्रीमान्ले चाहँदा शरीर चलाउन दिनुपर्ने अभ्यास छ । महिलाले शरीरमाथिको अधिकार चाहिं कसरी कायम गर्ने ?

महिलाले नाइँ भनेर नै आपूm यौन सम्पर्कका लागि तयार नभएको जानकारी दिने हो । नाइँ भन्दाभन्दै जुनसुकै महिलामाथि यौनसम्पर्क गरिन्छ भने त्यो बलात्कार हो । नो भन्दाभन्दै गरिने यौन सम्पर्कले महिला हैन पुरुष मात्र सन्तुष्ट हुन्छ र महिला बलात्कार हुन्छिन् ।

पुरुषको उमेर बढी महिलाको उमेर कम हुनुपर्ने, पढाइ जागिर, उमेर हाइट महिलाभन्दा पुरुषको ठूलो हुनुपर्ने सोच हानिकारक परम्परागत सोच हो । यसमा परिवर्तन हुनुपर्छ । अन्यथा महिलाले नाइँ भनिरहेकी हुन्छे, पुरुषले जबरजस्ती गरिरहन्छ र हिंसा भइरहन्छ । विछोडको अवस्था सृजना हुन्छ र समाजले महिला नै गलत हो भनिदिन्छ ।

महिलालाई ‘नाइँ’ भन्नसक्ने कसरी बनाउने ?
महिलालाई बलात्कार गर्नसक्ने कमजोर कानुन बनाउन समाज र राज्यका पुराना बिचार बोकेका व्यक्तिहरु लागिरहेका छन् । महिला भएका कारण तँ कमजोर छेस्, पुरुषबाट हरेक पटक बलात्कार हुन तयार हुनु तेरो नियती हो भनेर सिकाइन्छ । लैंगिक समानताका लागि शारीरिक, मानसिक, आर्थिक, सामाजिक रुपमा महिला बलियो हुनुपर्छ ।

हाम्रो समाजमा कति महिलालाई यौनइच्छा र यौनतृप्ति के हो थाहा छैन । यौनको पूर्ण आनन्द नलिई आमा–हजुरआमा बनेका हुन्छन् । स्वभावतः यी महिलाहरु जिन्दगीभर श्रीमान्बाट बलात्कारमा परेका हुन्छन् । यौन शिक्षा विद्यालयमा पनि पढाइन्न । शारीरिक शिक्षाभित्र सानो पाठ राखेर यौन शिक्षा पूरा हुँदैन । नयाँ पुस्तालाई ठीक किसिमले यौन शिक्षा दिन सकियो भने मात्र कम्तीमा भोलिको पुस्ताका महिला बलात्कृत र पुरुष बलात्कारी नहोलान् ।

यौन शिक्षा कहिले शुरु गर्ने ? यौनिकता नबुझेर पनि कति घर तोडिएका छन् भनिन्छ, तपाईंलाई के लाग्छ ?
यौन हिंसा न्यूनीकरणका लागि यौन शिक्षा नर्सरी कक्षादेखि नै सिकाइनुपर्छ । बच्चाहरुलाई सानैमा के यौन शिक्षा दिने भन्ने प्रश्न पनि उठ्नसक्छ । तर, यौन भनेको लिङ्ग योनीमा प्रपेश गर्ने कार्य मात्र हो भनेर बुझ्नुहुन्न । स–साना बालबालिकालाई यो केटा हो, यो केटी हो भनेर पढाउन सकिन्छ । विस्तारै उनीहरुको उमेरसँगै यौनाङ्ग र शरीरमा आउने परिवर्तनका बारेमा पढाउनुपर्छ । अन्ततः पेनिट्रेसनको विषय पनि आउँछ तर त्यो उनीहरुको उमेरको मागअनुसार ।

केही समयअघि नेपालगञ्जमा महिलाहरु आएर सिडियो कार्यालय घेरे । हाम्रो देशमा बालविवाह न्यूनीकरणको माग भैरहेको बिषयमा लडाइँ छ । विवाहकका लागि केटा र केटीको उमेर २० जो राखिएको छ, त्यो केटीका लागि धेरै भयो, जबकि उनीहरुमा यौन चाहना १४–१५ देखि नै देखिन्छ भन्ने उनीहरुको धारणा थियो । यौन चाहना तराईजस्तो गर्मी ठाउँमा छिटो सुरु हुनसक्छ । २ नंम्बर प्रदेशले कानुनमा परिवर्तन ल्याउने कुरा बोलिसकेको छ– यस कुरामा दम छ । हाम्रो आफ्नो जवानी हेर्दा पनि थाहा हुन्छ । १२ देखि १३ बर्षको उमेरमा शारीरिक परिवर्तन आउन थाल्छ । एक–अर्को लिङ्गप्रति आकर्षक हुने, आफूलाई राम्रो, राम्री बन्न मनलाग्ने, फिल्मको हिरोको फोटो राख्न मन लाग्ने, एक–अर्कालाई जिस्क्याउन मन लाग्ने, ऐना हेर्न, राम्रो केटा–केटी हेर्न मनलाग्ने हुन्छ । त्यो नै यौन चाहना हो ।


हिजो यो उमेर आउँनुभन्दा पहिला नै विवाह गरिदिन्थे । समाजको डर थियो । यौनको बारेमा बाबुआमा कसैले बुभाउँदैनथे । अहिले मोबाइल खोल्यो भने जे पनि पाइन्छ । बाहिर गयो भने कुकुर, बिरालो, चरा हरेकको यौनिक गतिबिधि देख्न सकिन्छ । यौनईच्छा भएको समय मानिसलाई त्यो पनि एउटा सामग्री बन्छ । अर्कोतर्फ विवाह नभै यौन सम्बन्ध राख्नु हुँदैन भनिएको छ । कुनैपनि छोरा छोरीले बाबुआमालाई आएर मेरो ब्वाईफ्रेन्ड छ, गर्लफ्रेन्ड छ भन्न सक्दैनन् । उसको उपाय भनेकै यौन सम्पर्ककै लागि घरबाट भाग्नुपर्ने हुन्छ । भागेपछि समाजले खत्तम भयो, अब उसलाई घरमा आउने पनि अनुमति छैन भनिन्छ ।

तपाईं प्रसूति रोग विशेषज्ञ, यौनसम्बन्धी समस्या समाधान वा उपचारका लागि कति उमेरदेखिका महिला आउँछन् ?
अहिले सुरक्षित गर्भपतनका लागि १३–१४ बर्षका केटीहरु पनि आउँछन् । यतिबेला केटालाई भने भगाइन्छ र समाजले गर्भपतनमाथिको अधिकार दिएकाले अविवाहित केटीहरुले गर्भपतन गरे भन्ने हल्ला चलाइन्छ । सञ्चार माध्यमले पनि त्यसलाई बुझ्दै नबुझी प्राथमिकता दिन्छ । कम्तीमा सुरक्षित गर्भपतन सेवा भएका कारण त्यो केटी बाचेकी छ, नत्र यो समाजले त्यो केटीलाई बाच्न पनि दिंदैन । यदि गर्भपतन सेवा नभएर कुमारी आमा भएको भए यो समाजले कतिजनालाई बाँच्न दिन्थ्यो ?

बालबिवाहको अभियान चलाउने हो भने सानै उमेरदेखि यौन शिक्षा दिनुपर्छ । छोरा, छोरीको केटा साथी, केटी साथी छ भने घरमा बोलाएर उमेर नपुग्दै यौन सम्पर्क राख्दा गर्भवती हुन्छ र आमा बच्चा दुबैको लागि समस्या हुन्छ भन्ने शिक्षा दिनुपर्छ । केटा–केटीको पनि बच्चा जन्माउने चाहना नभएर यौन सम्पर्क मात्र राख्ने चाहना बढेको हुन्छ । दुबैलाई बुझाएर पहिला शिक्षा पूरा गर, उमेर भएपछि विवाह गरिदिउँला भन्नुर्छ । घरमा आउँजाउँ गर्नु, बस्नु, सिनेमा हेर्न जानु कुनै आपत्तिको कुरा होइन । विवाहका लागि दुबैको पडाइ बीए पास हुनुपर्छ भनेपछि समस्या आफै हल हुन्छ ।

समाज, परिवार र आवश्यकतालाई सन्तुलित गर्दै यौन शिक्षामा कतिसम्म खुल्नसकिन्छ ?
जति छोपछाप ग¥यो त्यति नै के के न हो भन्ने हुन्छ । नेदरल्याण्डको समुद्री किनारमा परिवारका बाबु, आमा, छोरा, छोरी सबै नाङ्गै पल्टिरहेका थिए । म नेपालबाट गएको मान्छे, देख्दा पागलजस्तो लाग्यो । तर त्यहाँ कसैले बहुला भनेनन् । बच्चैदेखि केटा र केटीको शरीर देखाउने, चिनाउने, ग¥यो भने समस्या आउँदैन । युरोपमा स्टीम बाथ लिन परिवार नै नाङ्गै एकै ठाउँमा बस्छन् । त्यहाँ कुनै अप्ठ्यारो मान्दैनन्, बरु सबैले शरीर चिन्ने मौका पाउँछन् । महिला र पुरुषको शरीर देख्ने बित्तिकै यौन सम्पर्क हुन्छ भन्ने हैन, चिन्ने हो । यसरी नै शरीरको विकास भएको थाहा हुन्छ । परिपक्व भएपछि हर्मनको विकास कसरी हुन्छ भन्ने शिक्षा प्राप्त हुन्छ ।

नेपालमा यस्तो सम्भव देख्नुहुन्छ ?
किन नहुनु नेपालमा पनि सम्भव छ । अन्य मुलुकभन्दा नेपालमा सजिलो छ । तर, नेपालमा नीति नियम बनाउने ठाउँमा परम्परावादी सोचका मान्छे मात्रै बस्छन् । क्षमतावान व्यक्तिलाई नीति नियम बनाउन दिने हो भने कुनै गाह«ो छैन । मलाई शिक्षा मन्त्रालयको डिपार्टमेन्टमा राखिदिनुस्, १० बर्षमा पूरै पाठ्यक्रम नै परिवर्तन गरेर आधुनिक र समयसापेक्ष जनशक्ति तयार पारेर देखाइदिन्छु ।

नेपालमा परिवर्तन ल्याउन किन सजिलो छ भने, एक दिन राष्ट्रपति विद्या भण्डारीले आफैले छाता ओढ्ने वित्तिकै जनता कति खुशी भएका छन् । मान्छेले भित्रदेखि नै परिवर्तन खोजेको छ । यौन शिक्षाको पनि परिवर्तन खोजेको छ । पर्पर मेकानिजम बनाउनुप¥यो । यथार्थ सूचना दिनुभयो भने मानिस चेतनशील प्राणी भएकाले तुरुन्तै बुझ्छ । हाम्रो बुझाई नै अत्यन्तै कमजोर छ । झण्डै २३ बर्षअघि हिमाल मिडियामा मैले यौनका बारेमा अन्तर्वार्ता दिएकी थिएँ । शक्तिको सम्बन्धको कुरा गर्दा यौन–आसनमा पनि शक्तिको सम्बन्ध छ । जहिले पनि पुरुष माथि हुनुपर्ने भनेकी थिएँ । यो विषयलाई लिएर दुई वर्षसम्म मैले त गाली मात्र खाएँ । विषय नै नबुझी जेपायो त्यो बोल्ने भनेर कति अधिकारका क्षेत्रमा काम गर्ने महिलाहरुले समेत गाली गरे ।

महिलामा महिनावारी सुकेपछि यौन चाहना हुँदैन र पुरुषमा ८० वर्षसम्म पनि रहन्छ । यौनिकताका लागि पनि आठ–दश वर्ष कान्छी केटीसँग केटाको विवाह कुनु ठीक हो भनिन्छ नि ?
कसले भन्यो महिलालाई महिनावारी सुकेपछि यौनईच्छा हुँदैन भनेर ? यो शतप्रतिशत गलत हो । महिलाहरु पनि ८० वर्षसम्म पनि यौन क्रियाकलापमा सक्रिय हुनसक्छन् । नेपालमा महिलाहरु छिटो निस्क्रिय हुनाको कारण अर्कै छ, शुरुदेखि नै उनीहरुको यौनक्रियाकलाप पीडादायी हुन्छ । यसकारणले नैराश्यता शुरु हुन्छ । त्यसका साथै आवश्यकता अनुसारको बच्चा भैसकेपछि अब केका लागि चाहियो र ? महिलाले आफ्नो शरीरलाई हेर्ने दृष्टिकोण नै अरुको लागि भन्ने छ । महिलाको शरीर श्रीमान्को यौन सम्पर्क र बच्चा जन्माउनका लागि भन्ने छ । आफ्नो शरीर मेरो लागि हो भनेर हे¥यौं भने महिला पनि ८० वर्षसम्म यौनक्रियाकलापमा पुरुषसरह नै सक्रिय हुन्छन् ।

पाठेघर निकालेको महिला पनि यौन सम्पर्कमा सकृय हुन सक्छिन् ?
पाठेघर नहुँदा बच्चा पो जन्माउन सकिन्न, यौनसम्पर्क गर्न पाठेघर त जरुरी पर्दैन नि ? ‘पाठेघर नभएकी महिला यौन कार्यमा सक्रिय हुन्नन्’ भन्ने भनाइ पनि महिलालाई मानसिक हिंसा दिने पुरुषप्रधान अभिव्यक्ति हो, हिंसाको नमुना हो । मानिसको यस्तै सोचले महिला छिटो यौन सम्पर्कबाट निस्किृय हुन्छन् । महिलाको उमेर घटी या बढीको कुरा गर्दा महिला १० बर्ष जेठी र पुरुष १० बर्ष कान्छो भएर केही फरक पर्दैन । यस्तो भएर पुरुष यौनमा सक्रिय होला महिला नहोला भन्ने हुँदैन । पीडादायी यौन क्रियाकलाप भयो भने महिला मात्र हैन पुरुष पनि निस्किृय हुन्छन् । पुरुषले मर्दानापन यौनसम्पर्कसँग जोड्छ । उसले त्यो नै शक्ति हो भन्ने सोच्छ । त्यसैले सक्रिय हुन बल गरिरन्छ ।

यौन शिक्षा नपाएका कारण महिला र पुरुषले के गुमाइरहेका छन् ?
सबैभन्दा ठूलो माया गुमाइरहेका छन् । मायाभन्दा मधुर विषय के छ र ? तर हामी लोग्ने–स्वास्नी बीचमा पनि माया छैन, बाध्यता छ । यौन सम्बन्ध नै बाध्यताको सम्बन्धजस्तो भएको छ । कतिपय महिलालाई रात नपरे हुन्थ्यो जस्तोसम्म भएको छ । एक सय जनामा गरेको एक सर्वेमा ६० प्रतिशत महिला यौन सम्पर्कबाट सन्तुष्ट नभएको देखियो । यसमा पुरुषले पहिलो गुमाएको प्रेम नै हो । श्रीमान् श्रीमतीको बीचमा यौनका बिषयमा समझदारी नै हुँदैन । जिन्दगीभरि महिलाले सम्झौताको जिन्दगी बाच्नुपर्ने हुन्छ । यीनै कारणले द्वन्द्व, हिंसा, पुरुषले मौका मिल्यो कि यताउता चहार्ने, महिलाहरु पनि यताउति जाने खालको वातावरण खोजी गर्ने । यसो हुँदा श्रीमान् श्रीमती दुबैमा कुण्ठा हुन्छ । ८० प्रतिशत महिला–हिंसा पुरुषहरुले नै गर्छन् । यसको मूल कारण यौन सम्बन्ध नै हो । अन्तरंग सम्बन्धको एउटा पाटो यौन सम्बन्ध हो ।

तपाईको जीवनमा यी कुराहरु कतिको रहे ?
म जतिबेला ओरेकमा सक्रिय रहें, त्यतिबेला रातदिन नभनी काममा जुटें । कामका फोन पनि उत्तिकै आउँथे, भेटघाट आदि इत्यादि हुँदा श्रीमान्ले शंका गर्ने मात्र हैन महिनौंसम्म नबोल्ने, तँ त्यसैसँग जासम्म भन्ने । यो खालको मानसिक दबाब थुप्रै खेपें ।

श्रीमतीले श्रीमान्ले भन्दा बढी कमाउन थालिन् भने पुरुषमा कुण्ठा आउँछ, उसलाई त्यस कुण्ठाले नपुंसकतातिर लान्छ भनिन्छ, हो ?
यो पुरुषप्रधान मानसिकता हो । आफूभन्दा बढी सक्षम श्रीमती अगाडि आई भने अधिकांश पुरुषमा यस्तो कुण्ठा हुन्छ । कमै मात्र पुरुषले महिलालाई बाहिर धुमधाम गरेको राम्रो मानेका हुन्छन् । तर भित्र आत्मादेखि नै उनीहरुमा कुण्ठा शुरु हुन्छ । कुण्ठापूर्ण अवस्थाले नपुंसकता पनि सिर्जना गर्छ ।

नेपालको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कानुन यी सबै विषय सम्बोधन गर्न पर्याप्त छ ?
यो कानूनले प्रजनन स्वास्थ्यका कुरा गर्छ । नहुँनुभन्दा राम्रो भएको रामै्र हो तर यो कानुनले केवल बच्चा मात्र चाहेको छ । बच्चा नपाउने महिलाको स्वास्थ्यको विषयमा र बच्चा पाउन छोडेपछिको अवस्थालाई सम्बोधन गरेकै छैन । नेपालमा यौनका बिषयमा कुरा नै हुन्न । यौन सुख के हो भन्ने कुरा नै थाहा हुन्न भने बलात्कारका कुरालाई पनि सामान्य देखिन्छ । यस्तै कारणले थुप्रै घर विग्रएकिा छन् ।

नेपालमा केही यौनकर्मी महिलाले यौनलाई ब्यवसायको रुपमा स्वीकृति पाऊँ भन्ने गरेका छन् नि ?
यसै हो भन्न गाह्रो छ । जुन महिलाहरुले गरेका छन् कसरी, किन, कुन स्टेजमा यौन व्यवसायी भए भन्ने कुरा हेर्नुपर्छ । जसले त्यो पिडा भोगेकै छैन उसलाई यो सही या गलत भन्ने अधिकार छैन । यौनव्यवसाय देवताको पालादेखि नै छ । तर, यौन व्यवसाय गर्नु त्यति सजिलो बिषय हैन । शरीर बेचेर कमाएको पैसा र किड्नी बेचेर कमाएको पैसा उस्तै हो । एउटा महिलाले उमेर छउन्जेल कमाउँछे र उमेर गएपछि बाच्न मुस्किल छ ।

कानुनी मान्यता दिने बेला भएको छैन । यौन व्यवसायलाई अपराधीकरण गर्नु चाहिं हुँदैन । यस अवस्थामा पु¥याउने निकायलाई अपराधी देख्नुपर्छ । महिलाहरु बाध्य नभै यौन व्यवसायमा जाँदैनन् । पढेलेखेकाले थुपै्र पार्टनर राख्दा यौनकर्मी नहुने, तर सामान्य व्यक्ति अपराधी हुने ? पुलिसले समातेर लान्छ पैसा पाए छोडिदिन्छ । त्यसैले यौनकर्मीको बाध्यात्मक अवस्थालाई अपराधि बनाउनुहुन्न ।

प्रतिक्रिया दिनुहोस्