लिवियाली पूर्व प्रधानमन्त्री मौमदी जेलमुक्त



त्रिपोली । लिवियामा लामो समयसम्म राष्ट्रपति बनी सन् २०११ मा जनआन्दोलनको बलमा अपदस्थ शासक मोहमर गद्दाफी युगका अन्तिम प्रधानमन्त्री बग्दादी अल–मोहमौदीलाई स्वास्थ्यको कारण जेलमुक्त गरिएको अधिकारीले जनाएका छन् ।

मौमदीसहित आठ जनालाई लिवियाली जनताको आन्दोलनमा अन्धाधुन्ध बल प्रयोग गरी सयौँ नागरिकको ज्यान लिएको आरोपमा मृत्युदण्डको सजायँ तोकिएको थियो । उहाँ चार बर्षदेखि लिवियाली जेलमा रहँदै आउनुभएको थियो ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को समर्थन पाएको लिवियाली राज्य विद्रोहका समय मौमदीले गद्दाफीको विश्वासपात्रका रूपमा सरकारको नेतृत्व गर्नुभएको थियो ।  सत्तरी बर्ष पार गरिसकेका पूर्व प्रधानमन्त्री मौमदी, गद्दाफीका छोरा सैयफ अल–इस्लामसहित तत्कालिन आठ नेतालाई सन् २०१४ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

मौमदीलाई चिकित्सा आयोगको सिफारिस अनुसार ‘स्वास्थ्यको कारण’ रिहा गरिएको छ । उहाँले विशेष स्वास्थ्य केन्द्रहरूमा स्वतन्त्र रूपमा उपचार गर्न सक्नुहुनेछ । उहाँलाई के रोग लागेको र कहाँबाट रिहा गरिएको भन्नेबारे थप विवरण दिइएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्