इलाम घुम्न आउने पर्यटक ४० हजारले वृद्धि



गणेश घिमिरे, इलाम ।
पूर्वकै पर्यटकीय जिल्ला इलाममा घुम्न आउने पर्यटको संख्या बर्षेनी बढ्दै गएको छ । अघिल्लो आर्थिक बर्ष २०७४÷०७५ भन्दा गत आव ०७५÷०७६ मा इलाम घुम्ने पर्यटकको संख्या ४० हजारले बृद्धि भएको छ ।

अघिल्लो आवमा ९३ हजार ९ सय ७६ जनाले इलाम भ्रमण गरेका थिए भने गत आवमा ४० हजारले बृद्धि भई एकलाख ३४ हजार ७७ पुगेको छ । इलाम–झापा सीमावर्ती रोङ्ग गाउँपालिका स्थित जोरकलशमा रहेको पर्यटन सूचना केन्द्रमा दर्ता भएअनुसार इलाम आउने जम्मा पर्यटक मध्ये ५ सय ८० जना बिदेशी नागरिक र बाँकि आन्तरीक पर्यटक रहेका छन् ।

सुचना केन्द्रमा दर्ता नभई आउने पर्यटकको सङ्ख्या पनि उच्च छ । कतिपय पर्यटक भाडाको गाडीमा आउने भएकाले उनीहरुको तथ्यांङ्क संकलनमा कठिनाई हुने गरेको केन्द्रका सूचना अधिकारी गगन घिमिरे वताउनुभयो । इलाम भित्रने पर्यटकको पहिलो रोजाई कन्याम रहेको केन्द्रको तथ्याङ्कले देखाउँछ । तथ्यांक अनुसार ३८ हजार ५ सय ९५ जनाले कन्याम घुमेका छन् । त्यसपछि इलामबजार रहेको छ । गतबर्ष इलाम बजार ३२ हजार ४ सय ४८ जनाले भ्रमण गरेका छन् भने पर्यटकको तेस्रो रोजाईमा इलामको पशुपतिनगर रहेको छ । पशुपतिनगर घुम्न जाने धेरै पर्यटक पशुपतिनगरबाटै भारत दार्जिलिङ्ग जाने गरेको सुचना अधिकारी घिमिरेले बताउनुहुन्छ ।

केन्द्रमा दर्ता गरेर इलाम हुँदै पाँचथर र ताप्लेजुङ्गसम्म पुग्ने पर्यटक पनि धेरै रहेका छन् । इलाम घुम्न आउने आन्तरीक पर्यटकमा बढी मात्रामा शैक्षिक तथा सहकारी भ्रमणमा आउने रहेका छन् । धेरैजसो पर्यटक कात्तिक मंसिरको समयमा इलाम घुम्न आउने गरेको केन्द्रले जनाएको छ । सो समयमा दर्तामात्र भएर आउने पर्यटक दैनिक ९/१० हजार हुने गरेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारको विकासमा पनि ठूलो रकम खर्च समेत गर्दै आएको छ । सम्भावनायुक्त पर्यटकीय क्षेत्रको सौन्दर्य बढाउन र अन्य पूर्वाधार विकासमा लगानी बढाएपछि इलाम आउने पर्यटक बढेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली बताउनुहुन्छ ।

यहाँका पहाडको पर्यटकीय क्षेत्रमा पूर्वाधार बनाउन समितिले डेढदेखि दुई करोड रुपैयाँको हाराहारीमा बजेट खर्चेको छ । पर्यटन विकासमा निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ । इलामका पर्यटकीय क्षेत्रमा ठूलो लगानी गरेर होटल निर्माण भइरहेका छन् । करोड भन्दा बढीको लगानीमा बनेका केही होटल सञ्चालनमा छन् भने जिल्लाको दर्जन बढी ठाउँमा अहिले पनि होटल निर्माण भएकाले पर्यटकलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्