संघीयताको प्रवलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण



भक्तपुर ।
संघीयताको प्रबलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको आयोजना र जिल्ला समन्वय समिति भक्तपुर,सुर्यबिनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको सहयोगमा संचालित कार्यक्रममा सरोकारवालाले संघीयताको प्रबलीकरण,दिगो विकास र संचार बिषयक अन्तरकृया कार्यक्रममा यस्तो जोड दिएका हुन् ।

शुक्रबार र शनिबार दुई दिन धुलिखेलमा आवासीय रुपमा संचालित कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले पत्रकार पनि संघीयताको अंशियार रहेको बताउनुभयो ।अहिले नै संघीयताको आलोचना गर्ने बेला नभएको भन्दै उहाँले हाम्रो देशमा ५० प्रतिशत संघीयता सफल भैसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघले राष्ट्रिय समृद्धिको लागि संचार ,ब्यबसायीक,सुरक्षित र स्वतन्त्र पत्रकार भन्ने नारा अघि सारेको बताउँदै संघीयताको प्रबलीकरण र दिगो विकासमा संचारको भूमिका महत्वपुर्ण रहेको बताउनुभयो ।प्रेस जगत नागरिक अधिकार र राष्ट्रिय हित बिपरीत जान नसक्ने भन्दै बिकासका लागि पत्रकारले साझेदारी र खबरदारीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एबं बरिष्ठ पत्रकार तारानाथ दाहालले पत्रकारले आफ्नो धर्म र मर्ममा रहेर तीनै तहका सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिंदै पत्रकारले समाचार सम्प्रेषण गर्दा प्रभाव र दबाब भन्दा माथि उठ्न सक्नुपर्ने बताउनुभयो ।अब स्थानीय सरकारले पनि संचारको नियमन गर्न सक्ने अधिकार पाएको भन्दै उहाँले उनीहरुले संचारको क्षेत्रको बिकास गर्नका लागि संचार र बिज्ञापन ब्यबस्थापन नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले संघीयता, दिगो विकास र संचारको मुल लक्ष्य नागरिक सेवामा केन्द्रीत हुनुपर्ने औंल्याउनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले अहिले जनप्रतिनिधिले के गल्ती गर्छन भन्ने मात्र खोजी गर्ने प्रबृत्ति बढेको सन्दर्भमा संचारक्षेत्रले भने राम्रा र नराम्रा दुबै पक्ष औल्याएको बताउनुभयो ।उहाँले नागरिकलाई सुसुचित पार्ने सन्दर्भमा सन्तुलित ,निष्पक्ष र सशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै सुशासनलाई प्रत्याभूति गर्न संचार क्षेत्रको सकृय सहभागिता अपरीहार्य रहेको बताउनुभयो ।

सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले खुला ,पारदर्शी र उत्तरदायी स्थानीय सरकार बन्न निरन्तर लागि परेको बताउनुभयो ।पुर्व प्रशासक बसन्तराज गौतमले हरेक तहका सरकारले आप्mना काम डिजीटल प्रविधि मार्फत सकेसम्म छिटो अद्याबधि गर्नुपर्नेमा जोड दिंदै सरकारले काम गर्दा कार्यपालिकाको भन्दा बढि अधिकारको प्रयोग ब्यबस्थापकीय रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ईश्वरी ओझा, बिकास पत्रकार मंचका अध्यक्ष गोपीकृष्ण ढुंगाना,नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सीना, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ,उपाध्यक्ष कविता थापा,सचिब कृष्ण नेपाल लगायतले स्थानीय मिडिया र मिडियाकर्मीको बिकास र संरक्षणमा स्थानीय सरकारले महत्व दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा पत्रकार नगेन्द्र सापकोटा,जीवन ढुंगाना,हरिबहादुर श्रेष्ठ लगायतले संचार क्षेत्रको सहयोगबिना संघीयताको प्रबलीकरण र दिगो विकास सहज नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्