दशक पहिले स्थापित टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै   



पर्वत । पर्वत जिल्लाको एक विकट गाउँमा एक दशक पहिले स्थापित टेलिमेडिसिन सेन्टरमा दिइने स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

पर्वतको फलेबास नगरपालिका वडा नं ८ ठानामौला गाउँमा २०६६ देखि सञ्चालनमा आएको टेलिमेडिसन सेन्टरमा स्वास्थ्य सेवा प्रभावकारी भएपछि बिरामीको भीड लाग्न थालेको हो । ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले टेलिमेडिसिन सेवा सञ्चालन गरेको हो ।

सेन्टरमा ग्रामिण क्षेत्र भएपनि इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका विदेशी विषेशज्ञ डाक्टरले स्वास्थ्य सेवा दिदै आएका छन । स्वास्थ्य केन्द्रले इन्टरनेटको माध्यमबाट स्काइपमार्फत बिरामीका समस्या डाक्टरसँंग राख्ने र विषेशज्ञको सल्लाहमा औषधि उपचार हुने गरेको छ ।

हाल स्वास्थ्य केन्द्रबाट क्षारे, मानसिक समस्या, पिसाब, छालारोग र नशाका जटिल समस्या भएका बिरामीले स्वदेशी तथा विदेशी विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा लिइरहेको चार भञ्ज्याङ स्वास्थ्य केन्द्रका अध्यक्ष धर्मलाल गुरुङले जानकारी दिनुभयो ।

सेवा प्रभावकारी भएपछि हाल जिल्लाका बिभिन्न स्थान छिमेकी जिल्ला बागलुङ,गुल्मीदेखि मात्र नभएर पोखरा, तनहुँ र लमजुङबाट पनि सेवा लिन बिरामी यहाँसम्म आउने गरेका छन् ।

लामो समयदेखि नशाको समस्याले हिँडडुल गर्नसमेत समस्यामा रहेका तनहुँ ब्यास नगरपालिका का ४० वर्षीय रमेश सिग्देल सेन्टरमा उपचार सेवा लिएपछि निको भएको बताउनुहुन्छ । ‘पहिले नशाको समस्याले गर्दा हिँडडुल गर्न नसक्ने अवस्था थियो । ’ उहाँले भन्नुभयो ‘विशेषज्ञ डाक्टरको सुझावका आधारमा नियमित उपचार गरे, अहिले सहज रुपमा निको भएको छ । उहाँले हाल विदेशी डक्टरको सल्लाहमा घाँटीको नशाको शल्यक्रिया गरेपछि आफ्नो समस्या समाधान भएको बताउनुभयो ।

उहाँ जस्तै दर्जनौं बिरामी यहाँ आएर निको भएको स्वास्थ्य केन्द्रले जनाएको छ । उक्त केन्द्रमा उपचार गर्न आउने बिरामीमा भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई केन्द्रले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा समन्वय गरी उपचारका लागि पठाउने गरेको छ भने अन्य सामान्य बिरामीलाई यहीबाट सेवा दिने गरेको छ ।

दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिन आउने गरेको संस्थाका सिनियर अहेब अधिकृत पदम सापकोटाले बताउनुभयो । उहाँका अनुसार टेलिमेडिसिन सेवाअन्तर्गत एकै महिनामा ३१ सय बिरामीले सेबा लिएको तथ्याङ समेत रहेको छ ।

बेलायतमा रहेका नेपालीको सङ्गठन चार भञ्ज्याङ तमु समाज यूकेको पहलमा से चार भञ्ज्याङ स्वास्थ्य केन्द्रले सञ्चालन गर्ने गरेको प्राथामिक स्वास्थ्य सेवा र टेलिमेडिसिन सेवा दिनका लागि सेन्टरको स्थापना गरिएको थियो ।

यस केन्द्रमा टेलिमेडिसीन सेवाका अतिरिक्त हरेक वर्ष विदेशी विषेशज्ञ डाक्टरको उपस्थितिमा निःशुल्क स्वस्थ्य शिविर पनि आयोजन गर्ने गरिएको छ, भने केन्द्रले स्वास्थ्य जनचेतनाका लागि स्वास्थ्य शिक्षा अभियान पनि सञ्चालन गर्दै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्