डुबान प्रभावित बस्तीमा सर्पको बिगबिगी    



सरोज यादव, विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा बाढी प्रभावित वस्तीमा सर्प र लामखुट्टे प्रकोप बढेकाले बाढी प्रभावितहरू थप त्रसित भएका छन् । डुवान कम भएपछि घर फर्खिएका बाढी पीडितहरुले सर्प र लामखुट्टेको कारण रातभर सुत्न नसकिएको बताएका छन् ।

सात दिनअघि आएको बाढीले डुवानमा परेका बस्तीहरुमा अहिले सर्प र लामखुट्टेको बिगबिगी बढेको हो । विराटनगर महानगरपालिका भित्रका बाढी प्रभावित क्षेत्रमा बेलुका सर्प निस्कन थालेपछि स्थानीहरु त्रसित भएका छन् ।

त्यस्तै लामखुट्टेको प्रकोप पनि अति नै बढेको विराटनगर–१२ का किरण यादवले बताउनुभयो । बाढीले विस्थापित भएकाहरुले पानी घटे पछि घर पुगे पनि सर्प र लामखुट्टेको कारण झनै आजित भएको बताउँछन् । सबैभन्दा पीडित भएका सुकुम्बासीहरुले बेलुका सुत्न नसकिने अवस्थाको सिर्जना भएको बताएका छन् । पानी कम भएपछि तत्काल लामखुट्टे नियन्त्रण गर्न महानगरसँग औषधी छर्न माग समेत गरेका छन् । स्थानीय राजु कामतले घरमा सर्पको संख्या दैनिक बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नु पर्ने आवश्यकता छ ।पानी सुकेपछि घर गईयो विराटनगर १९ का मन्जु साहले भनिन दिनभर खेतमा काम गरेर घर फर्किदा घरमा सर्पको वास देखिन्छ सर्पलाई बाहिर खेदेर सुत्ने तरखर गरो लामखुट्टेले रातभर सुत्न दिदैन ।’

श्रीदेव खत्रीले बेलुका भएपछि सबै सडकमा प्रायः विषालु सर्प देखिने गरेको बताउनुभयो । निस्किन समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । हालसम्म सर्पले कसैलाई नडसे पनि तत्काल नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो । विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रोशन पोखरेलले बाढी प्रभावित क्षेत्रबाट विरामी भने नआएको बताउनुभयो । उहाँले सर्प दंशका विरामी बाढी आएपछि नबढेको बताउनुभयो । उहाँले नियमित रुपमा तीन देखि चारजना भने सर्प दंशका विरामी आउने गरेको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बाढीले डुबानमा परेका क्षेत्रहरुमा सरसफाई गरी सबै समस्या नियन्त्रण गर्नेतर्फ लागेको बताउनुभयो । महानगरमा एक हजारको हराहरीमा विस्थापित भएका थिए । विस्थापितलाई विद्यालय र सुरक्षित स्थानमा राखेर खाना खुवाइएको थियो ।

प्रदेश १ मा बाढीबाट २८ जनाको मृत्यु, ८ जना बेपत्ता

४ दिनसम्मको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ८ जना अझै बेपत्ता छन् भने १९ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा ३ जना, झापामा ३ जना, ओलढुंगामा ४ जना, भोजपुरमा ५ जना, इलाम र सुनसरीमा १ ,१ जनाको मृत्यु भएको छ ।

यस्तै उदयपुरमा ४, पाँचथरमा १, मोरङमा ३ र संखुवासभामा १ जनाको मृत्यु भएको छ । यस्तै घाइते हुनेहरुमा सबैभन्दा बढी धनकुटा रहेको छ। धनकुटामा ८ जना घाइते भएका छन् । यस्तै खोटाङमा १, झापामा २, भोजपुरमा २, सुनसरीमा २ र उदयपुरमा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

तथ्यांक अनुसार इलाम र मोरङमा बाढीले बगाएका अझै ३,३ जना वेपत्ता भएका छन । यस्तै झापामा र सुनसरीमा १/ १ जना वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्