गैर नेपालीलाई नागरिकता जारी गर्ने माथिको सर्जमिन मुचुल्का सकियो



झापा । आर्थिक चलखेल गरेर १६ जना गैर नेपालीलाई जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता वितरणमा संलग्नमाथिको सर्जमिन मुचुल्का गर्ने काम सकिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक महिना लगाएर झापामा गरेको सर्जमिन मुचुल्का तयारमा नागरिकता वितरणमा संलग्न कर्मचारी,वडाअध्यक्ष,दलाली,नक्कली बावु वनेर सनाखत गर्ने लगायतबाट मुचुल्का उठाइ केहीदिन अघि ब्युरोले लिएर गएको हो । इन्सपेक्टर ,सइ र हवल्दारसहित तीन जनालाई गुहमन्त्रालयबाट ब्युरोलाई पठाएको थियो । टोलीले पत्रका आधारमा छानविन गरी मुचुल्का तयार पारेका थिए । माथिबाट पठाएको पत्रका आधारमा सम्बन्धित क्षेत्रमा मुचुल्का उठाइएको जनाइएको छ । अनुसन्धानमा बाधा पुग्ने भन्दै थप जानकारी भने टोलीले दिन चाहेन । प्रारम्भिक रुपमा सम्लग्न देखिएकालाइ मौखिक वयान लिइ लिखित गरेको जनाइएको छ ।

गैर नेपालीलाइ नागरिकता वितरण गरेको प्रमाणसहितको सूचना पाएपछि गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको नेतृत्वमा छानबिन समिति बनाएको थियो । टोली झापामै आएर छानबिन सुरु गरेकोे थियो । जिल्ला प्रशासन कार्यालय झापाबाट नेपाली नागरिकता लिएका १६ जना गैरनेपालीको सूची लिएर अनुसन्धान टोली झापा आएको थियो । टोलीले आवश्यक सम्पूर्ण कागजात लिएर गएको थियो ।
झापा जिल्ला अदालतमा प्रतिवेदन आइसकेपछि अदालतले दिएको आदेश अनुसार प्रहरी अघि बढने जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । गृहले सवैकाम गरेकोले यो विषयमा थप जानकारीमा नआएको उनको भनाइ छ ।

घटना पछि प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, खरिदार तेजिन्द्र न्यौपानेलाइ गृह मन्त्रालयले निलम्बन गरी छानविन शुरु गरेको थियो । गैर नेपालीलाइ नागरिकता जारी गरेको प्रमाण फेला परेपछि गृहमन्त्रालयले बृस्तित् छानविनका लागि प्रहरीलाइ पत्र पठाएको थियो । नागरिकताको सनाखत खरिदार न्यौपानेले गराएको, नासु निरौलाले टिप्पणी पेस गरेको र प्रशासकीय अधिकृत ढुङ्गेलले जारी गरेको उल्लेख छ ।

कर्मचारीले ०७३ सालमा ५ जना र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएको पाइएको छ । नागरिकता वितरण गरिएकोमा भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको बुझिएको छ  । केही नागरिकतामा वावु टेक बहादुर गुरुङ बनेका छन् । नागरिकतामा बाबुको नामसमेत एउटै उल्लेख गरिएको छ ।

नेपाली नागरिकता लिएको खण्डमा तोकेको सजाय तथा जरिवाना अनुसार विदेशी नागरिकको हकमा एक वर्षदेखि पाँच वर्ष सम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । त्यस्तै नागरिकताको कागजात मिलाउने वा सिफारिस गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुने कानूनमा स्पष्ट उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्