सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्यो



विनोद सिंह विष्ट, बैतडी । बैतडीमा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएको भएपनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७४/०७५ मा ४२ वटा सवारी दुर्घटना भएकोमा गत आर्थिक बर्ष २०७५/०७६ मा २८ वटा सवारी दुर्घटना भएको छ ।

२०७४/०७५ मा ४२ वटा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ रहेको थियो भने ७२ जना घाइते भएका थिए । गत आर्थिक बर्ष २०७५/०७६ मा २८ सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ रहेकोमा ५८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७४/०७५ मा १० बस, ४ ट्रक, १५ जीप, ५ट्रयाक्टर, ४ मोटसाइकल र अन्य ४ सवारी साधन दुर्घटना भएका थिए । गत आर्थिक बर्ष २०७५/०७६ मा ५ बस, ५ ट्रक, ३ मोटरसाइकल, ९ जीप, ५ट्रयाक्टर र १ अन्य सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।

सवारी दुर्घटनाहरु राजमार्गभन्दा पनि जिल्लाका ग्रामिण कच्ची सडकहरुमा बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रमा बिनामापदण्ड सडक खनिएका र रुटपरमिटबिना यातायातका साधन सञ्चालन हुने भएकोेले बढी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रहरी सहायक निरीक्षक रावलको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्