बलिथुमका घर पहिरोको जोखिममा



लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ८ बलिथुमका दुई घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षाका कारण उक्त वडाको रामदीबाट कटहरबोटे हुँदै बलिथुम जाने सडकमा पहिरो जाँदा गाउँका २ घर पहिरोको जोखिममा परेका हुन् ।

स्थानीय लालमाया परियार र उहाँका भतिज राजन परियारको घर जोखिममा परेको सोही वडाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनु भयो । राजनका अनुसार सडक माथिको भाग भासिन थालेको एक साता भइसकेको छ । उहाँले पानी निरन्तर पर्दा त्यँहाको जमिन झनै भासिएको र दुवै घरको आँगन समेत भासिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘गाउँको विकास हुन्छ भनेर घर नजिकैबाट सडक बनाइँयो । तर, त्यँही बाटोले विनास गर्न लाग्यो । दिनरात डराईडराई बस्नु परेको छ । एकरात एउटाको घरमा बस्न जान्छौं । अर्को दिन कस्को घरमा जाने हुन्छ ।’ पहिरोको उच्च जोखिमा रहेका दुबै घरलाई सुरक्षित राख्नको लागि सडकबाट घरसम्म ग्याबिन जालिसहितको गाह्रो लगाउनु पर्ने स्थानीयले बताएका छन् ।

बेलुकी पानी नपर्दा घरमै बस्ने गरेपनि पानी पर्दाको समयमा घरमा बस्न सकिने अवस्था नरहेको लालमायाले बताउनुभयो । उहाँका अनुसार घरबाट बाहिर जाने बाटो पुरै थुनिएको छ । पानीको पाईप पहिरोमा पुरिएर धारामा पानि समेत आएको छैन । २/३ दिन भित्रै ग्याबिन जालीसहितको गाह्रो लगाई ती दुई घरलाई सुरक्षित स्थानमा सर्तक भएर बस्न अनुरोध गरेको वडाध्यक्ष कृष्णकान्त अधिकारीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्