गौंथली डाँडालाई हरियाली बनाउने युवाको प्रतिवद्धता



लमजुङ । लमजुङको बेसीसहर नगरपालिका– ८ स्थित गौंथली डाँडालाई हरियाली बनाउन स्थानीय युवाहरूले प्रतिवद्धता व्यक्त गरेका छन् । लायन्स क्लवमा आवद्ध युवाहरू उक्त डाँडालाई हरियाली बनाउन जुटेका हुन् ।

बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, वडा नं. ८ का अध्यक्ष पवित्रा थापा रानालगायत जनप्रतिनिधिसंगै युवाले बृक्षरोपण गरेर त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । नगरप्रमुख गुमानसिंह अर्यालले नगरपालिकाभित्रका पार्कहरुलाई हरियाली र मनमोहक बनाउने अभियान थालेको र यसकार्यमा युवाहरू अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो । विकास र संरक्षणमा युवाहरू जुटे सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारा छिटो सार्थक हुने उहाँले बताउनुभयो ।

वडा नं. ८ की अध्यक्ष पवित्रा थापा रानाले वडाभित्रका नांगो डाँडा तथा पाखोबारीमा बृक्षरोपण गर्दै आएको बताउनुभयो । उहाँले वडालाई सफा र हरियाली बनाउने नीति लिएको बताउनुभयो । कार्यक्रमका संयोजक एवं लायन्स क्लव अफ लमजुङका निवर्तमान अध्यक्ष सुरेशकुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लवका तृतीय उपाध्यक्ष विवश बुढाथोकीले गर्नुभएको थियो ।

सरकारले हरियालीको नीति ल्याएको बेला नांगो डाँडाकाँडालाई हरियारली बनाउन प्रतिवद्धता व्यक्त गर्दै युवाहरूले बृक्षरोपण अभियानको थालनी गरेका हुन् । गौंथली डाँडालाई बार बारेर यसअघि संरक्षण गरिएको ठाउँभित्र अहिले बृक्षरोपण गरिएको लायन्स क्लव अफ लमजुङका अध्यक्ष ताराराज घलेले बताउनु भयो । उहाँका अनुसार वडा कार्यालयले बृक्षरोपण गरेको बार बाहिरी क्षेत्रमा पनि युवाले बृक्षरोपण गरेको छ । निम र अशोकाका विरुवा रोपिएको छ ।

लायन बर्ष २०१९/२० को पहिलो कार्यक्रम नै बृक्षरोपणबाट सुरुवात गरिएको उहाँले बताउनुभयो । गौंथली डाँडाको संरक्षण र संवद्र्धन अव लायन्स क्लवले गर्ने भन्दै उहाँले यसको संरक्षणमा जुटिदिन सवैलाई आग्रह गरेको थियो । यसअघि निजी लगानीमा चौतारो निर्माण गरी बर र पिपल रोपिएको गाँथली डाँडामा बृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्