टाउको जोडिएका जुम्ल्याहालाई शल्यक्रियाबाट छुट्टयाइए



लन्डन (एजेन्सी)
जन्मिँदै एक आपसमा टाउको जोडिएका पाकिस्तानका २ बर्षका जुम्ल्याहा बच्चा सफा र मारवा उल्लाहलाई शल्यक्रियाबाट अलग्याएको छ ।

लन्डनको ग्रेट आरोमोन्ड स्ट्रिट हस्पिटलमा ५५ घन्टासम्म चलेको शल्यक्रियापछि दुबै स्वस्थ छन् । ती बच्चाहरुमा यस अवधिमा तीनवटा शल्यक्रिया भएको थियो । दुबै बच्चाहरुको मष्तिस्कका नसाहरु आपसमा जेलिएका थिए । डाक्टरले शल्यक्रिया अगाडी थ्रीडी प्रिन्टिंगका माध्यमबाट यसको जतिलतालाई बुझने प्रयास गरेका थिए ।

पाकिस्तानको चरसद्दाका ती जुम्ल्याहको जन्म पनि सिजरिनबाट भएको थियो । पहिलो शल्यक्रिया अक्टोबर २०१८ मा गरिएको थियो । त्यतिबेला उनीहरुको उमेर मात्र १९ महिनाको थियो । पुरै अलग गर्न अन्तिम शल्यक्रिया सन् २०१९ फेब्रुअरी ११ मा गरिएको थियो ।

जाँचका क्रममा बच्चाको खप्पर र रक्तवाहिनी नली आपसमा जेलिएको पत्ता लाग्यो । बच्चाहरुको सुरक्षित सल्यक्रिया गर्नका लागि चिकित्सकहरुले थ्रीडी प्रिन्टिंगको मद्दतबाट स्थितिको आंकलन गरे । त्यसका लागि उनीहरुले बच्चाहरुको खप्परको स्थितिलाई दर्साउने प्रतिकृति पनि तयार पारेका थिए ।


शल्यक्रियाका क्रममा चिकित्सकहरुले पहिला मस्तिष्कमा जेलिएका रक्तनलीहरुलाई छुट्याउन काम भयो । जाँचबाट टाउकोमा एक आपसमा जोडिएका दुई अलग मस्तिष्क रहेको पत्ता लागेको थियो । शल्यक्रियाका क्रममा डाक्टरहरुलाई मारवालाई बचाउन कठिन भइरहेको थियो । किनभने उनको मुटुको धड्कन कम हुँदै गइरहेको थियो ।

सफाको रक्तनलीबाट मारवालाई पनि बचाइयो । तर सफाले सल्यक्रिया भएको १२ घण्टा पछि नै स्ट्रोक झेल्ुन पर्यो । टाउकोको हिस्सालाई आकार दिन बच्चाहरुकै हाडाको प्रयोग गरिएको थियो ।

यस सल्यक्रियाको पुरा खर्च एक निजि डोनरले ब्यहोरेको हो । शल्यक्रियाका बेला अस्पतालका करिब १ सय कर्मचारी सहभागी थिए ।
बच्चाका आमा जैनब बीबीले अस्पताल र त्यहाँका सबै कर्मचारहरु प्रति सँधै ऋणी भएको बताइन् । दुबै बच्चालाई जुलाई १ मा डिस्चार्ज गरिएको थियो ।

अहिले उनीहरु आफनी आमा र हजुरबुबासँग लन्डनमै छन् । बच्चाहरुलाई केही समयसम्म फिजियोथेरापी र थप रेखदेखका लागि बोलाउने गरेको छ ।
उक्त शल्यक्रिया न्युरोसर्जन नुर अल ओवेसी जिलानी, प्रो. डेविड डुनावे र टोली मिलेर गरेको हो । विगत १० महिनासम्म चलेको यस शल्यक्रियाको सफलतालाई लिएर अस्पतालले खुसी ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्