भारतको चन्द्रयान प्रक्षेपण तिथि तय



नयाँदिल्ली,(एजेन्स) ।
भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्ने नयाँ तिथि विहिवार घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा आएर सो ऐतिहासिक चन्द्रयानको प्रक्षेपण कार्यक्रम स्थगित गरिएको थियो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आगामी सोमबार अपराह्न २ बजेर ४३ मिनेट जाँदा चन्द्रयान–२ को प्रक्षेपण गरिने औपचारिक घोषणा गरेको हो ।
भारतले चन्द्रमामा भूउपग्रह अवतरण गराउने महत्वाकाँक्षी अभियान सफल बनाउन केही वर्षदेखि प्रयास गरिरहेको हो । रुस, संयुक्तराज्य अमेरिका र चीनले यस्तो अन्तरिक्ष अभियानमा यसअघि नै सफलता प्राप्त गरिसकेका छन् । भारतले यस परियोजनामा करिब १४ करोड अमेरिकी डलर खर्च भएको जनाएको छ ।

अन्तरिक्ष विज्ञानका क्षेत्रमा विश्वमै यो हालसम्मकै सबैभन्दा सस्तो अभियान मानिएको छ । संयुक्त राज्य अमेरिकाले यस्तै अभियानका लागि करिब २५ अर्ब डलर अर्थात अहिलेको अन्तराष्ट्रिय बजारको मूल्य अनुसार १ सय अर्व भारु भन्दा बढी खर्च गरेको थियो ।

यसैगरी अमेरिकाले सन् १९६० र ७० को दशकमा चन्द्रमाका लागि १५ वटा अपोलो अन्तरिक्ष अभियान सञ्चालन गरेको थियो ।
आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट यस यानको प्रक्षेपण तयारी पूरा गरिएको इसरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्