प्रविधिको प्रयोग गरेँ त्यसको दास बनिनँ !



यदुप्रसाद भट्ट
केही दिनअघि मात्र राष्ट्रिय नाचघरमा राष्ट्रकवि माधव घिमिरेलाई रथारोहण गरियो । त्यसभन्दा एक दिनअघि यो पंक्तिकार घिमिरे निवास कपूरधारा पुग्यो र शुरु भयो घिमिरेसँग भलाकुसारी । वयका हिसाबले राष्ट्रकवि घिमिरे शताब्दी पुरुष हुन् । भलै राष्ट्रले उनलाई आजसम्म ‘शताब्दी पुरुष’ को सम्मान दिएको छैन । यही उमेरका अर्का विद्वान्, संस्कृतिविद् सत्यमोहन जोशीलाई भने यो सम्मान प्राप्त छ ।

जब पुग्यो नब्बे– हब्बे न कब्बे
जब पुग्यो सय– यमराजको भय
यो उखान राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष जोशीको हकमा लागू हुँदैन । १०० वर्षको उमेरमा पनि घिमिरेलाई मृत्युको कुनै भय छैन ।
बरु पीर र चिन्ता छ, यो उमेरमा पनि एकरत्ति फुर्सद भएन ! सधैं व्यस्ततामा हुन्छन् घिमिरे । उनको दिनचर्या व्यस्त छ । उनलाई भेट्नेको लर्को नै लाग्छ । सानासाना विद्यार्थीदेखि शोधार्थी तथा प्राध्यापकहरुसम्म उनलाई भेट्न हतारिन्छन् । बिदाको दिनमा घिमिरे निवासमा बाक्लै उपस्थिति हुन्छ । भन्छन्– एक थरी आउँछन्, किताबमा शुभकामना लेखिदिनुप¥यो भन्दै घरमा धर्ना कस्छन् । अर्का थरी आउँछन्, किताब लोकार्पणमा जसरी पनि प्रमुख अतिथि बन्नुप¥यो भनेर अड्डी कस्छन् । त्यस बेला दिक्क मानेजस्तो गरे पनि उनको मन भने त्यस्तै कुरामा प्रफुल्ल बन्ने गर्छ । ‘कसैले आग्रह गर्दा म हार्नै सक्दिनँ’, उनले आफ्नो सहृदयी स्वभाव खुलाए ।

यहाँ सबै सबैको छ, कसैको छैन क्यै पनि
जिन्दगी जिउनुको स्वाँङ जिन्दगी हैन क्यै पनि
जता हे¥यो उतै मान्छे, मान्छे छैन कतै पनि
वर्षाको धमिलो बाढी बहेझैं लततै बनी
उनको गीतिनाटक ‘शकुन्तला’ मा शकुन्तलालाई नायक दुश्यन्तले नचिनेजस्तो गर्दा व्यक्त ऋषिकुमारको उक्ति यहाँ सान्दर्भिक छ । अहिले मुर्दावाद र जिन्दावादको राजनीतिले नेपाली समाजलाई धकेलेको प्रसङ्गमा कविको मन बिरक्तिएको छ । उनी भन्छन्– आफू साहित्य सिर्जनामै मुर्दावाद र जिन्दावाद गरिरहेको छु ।

‘१२ वर्ष जति भयो पुस्तुन नगएको वा जान नसकेको । रातदिन लमजुङको सपना देख्छु । मन उतै बत्तिन्छ, तन बत्तिन सकेन ।’ –उनको भनाइ छ ।
प्रकृतिप्रेमी कवि अझै खुले– सम्झिए आफ्नो कविता–
मेरै धौलागिरि शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।

हिजो परिवारको टुहुरो आज राष्ट्रको अभिभावक
राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो । जन्मिएको तीन वर्षमा उनकी आमा बितिन् । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चाङ्ग अध्ययन गरे । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे । त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे । घिमिरेले बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरे ।

 

धौलागिरिले सगरमाथाको प्रतिनिधित्व गरेको, सगरमाथाले नेपालीको प्रतिनिधित्व गरेकाले नेपालीको ढुकढुकी नाप्न नसकेकोमा, राजनीतिले गाँजेको, राष्ट्रियताको मर्म नबुझेको उनको ठम्याइ छ ।

बुढ्यौलीमा लाठी टेक्दै कार्यक्रमहरूमा धाइरहने उनको बानीदेखि घरपरिवार पनि दिक्क भएर सोध्छन्– के पुगेन तपाईंलाई ? शान्त सरल मुद्रामा उनको उत्तर हुन्छ– ‘म जुन समाजमा बसेको हो, त्यो समाजदेखि बाहिर रहनै सक्दिनँ । मलाई मान्छेहरुको माझमा रमाइलो लाग्छ ।’

एक थरीले बोलाउँदा जाने र अरुले बोलाउँदा नगएर चित्त दुखाउन पनि उनको मन मान्दैन । मान्छेहरु आफूलाई खोज्दै आउनुलाई उनी आफूले लेखनबाट पाएको कमाइ ठान्छन् । ‘पहिले कोही थिएनन्, अहिले सबै भए । बोलाएको ठाउँमा नजाँदा राष्ट्रकवि आएनन् भन्लान्, सबैकहाँ जानैप¥यो’ –उनले हँसिलो मुद्रामा सुनाए ।

जीवनमा अनेक घामपानी छिचोलेका राष्ट्रकविसँग पनि सामान्य साहित्यप्रेमीदेखि अक्षरका सिपाही बन्दासम्मको अनुभव छ । सामान्य स्कुलको हेडमास्टरदेखि राज्यले दिएको राष्ट्रकविको सम्मान लिँदाको खुसी छ । त्यो बीचको संघर्ष र सुस्केरा उनीभित्रै गुम्सिएको छ ।

पुरानो समय भोगेर आएका राष्ट्रकवि घिमिरे आधुनिक विधि र प्रविधिबारे समेत जानकार छन् । तर, प्रविधिको लाभ पनि लिने र दास पनि नबन्ने बीचको लाइनमा रहेछन् उनी । त्यसैले उनी आफू मोबाइल बोक्दैनन् । छोरामार्फत् सम्पर्क हुन्छ । घरमा ल्यान्डलाइन फोन छ, त्यसैले काम चलेकै छ ।
उनले राष्ट्रकविले पाउने मासिक २५ हजार रुपियाँ लिइरहेका छन् ।

पत्रिका तीन–चार वटा दैनिक नियमित हेर्छन् । टीभीमा समाचार पनि नित्य हेर्छन् । वयोवृद्ध उमेरमा अनिद्राको समस्याले धेरैलाई पिरोल्छ । तर, राष्ट्रकवि घिमिरेलाई राति चार पाँच घन्टा मस्त निद्रा लाग्छ । उनलाई भएको स्वास्थ्य समस्या हो मधुमेह । यसबाहेक अन्य रोग आफूमा नभएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्