७ सय माछा मर्दा पाँच लाखको नोक्सान



रामचन्द्र वि.क, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ८ गाईखुरामा व्यवसायिक रुपमा पालेका माछा मरेका छन् । माछा पालाक किसान सानुबाबु पुरीले करिब एक रोपनी क्षेत्रफलको जग्गामा पोखरी निर्माण गरि पालेका ७ सय माछा विहिबार दिउँसो एक्कासी मरे पछि करिब साँढे पाँच लाख नोक्सान हुन पुगेको छ ।

माछा पालक किसान सानुबाबु पुरीले माछा पाल्नु अघि सबै अध्ययन गरिएको र माछा विज्ञको सल्लाह बमोजिम कमन कार्प जातको माछा पाल्न उपयुक्त वातावरण देखिएकाले माछा पालेको बताउँदै माछा मर्नुमा अरु नै कारण रहेको दाबी गर्नुभयो ।

पीडित पुरीले पोखरीमा अरु कसैले विषादी हालिदिएको कारण सबै माछा मरेको आरोप लगाउनुभएको छ । तीन दिन अघि पोखरीको आसपास मेटासिट नामाक विषादीको गन्ध आएको बताउँदै पुरीले त्यस्तै विषादी हालिदिएको हुन सक्ने दाबी गर्नुभयो । माछा मरेको विषयमा जिल्ला प्रहरी कार्यालय रामेछाप र मन्थली नगरपालिकाको पशु शाखामा जानकारी गराई सकिएको र प्रहरीले मुचुल्का समेत उठाएर लगेको पीडित पुरीले बताउनुभयो ।

पुरीले मन्थलीमा विगत दुई वर्ष देखि नियमित रुपमा करिब पाँच रोपनीको क्षेत्रफलमा पोखरी निर्माण गरी माङ्गुर लगायत जातको माछा पाल्दै आउनुभएको छ । अहिले एउटा पोखरीका माछा मरे पनि अन्य दुई पोखरीमा रहेका माछामा कुनै समस्या नआएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्