सेनालाई लडाई जिताउने जाल्पादेवी



चिरञ्जीवी मास्के, दोलखा ।  मन्दिर पुजा गरेर आफ्नो सबै मनोकांक्षा पुरा हुन्छ भन्ने कुरामा कति विश्वास गर्ने ? पुजा गरेरै सबै मनोकांक्षा पुरा होला त ? जे होस दोलखाको तामाकोसी गाँउपालिका वडा नम्बर ५ किर्नेमा रहेको जाल्पादेवी मन्दिरमा पुजा गर्दा सबै मनोकांक्षा पुराहुने विश्वास धेरैलाई छ ।

निगालाको पेरुङ्गोमा परेवा बोकेर मन्दिर पुगेका तामाकोसी गाँउपालिका वडा नम्बर ४ मालुका लिलाबहादुर भुजेल जाल्पादेवी मन्दिरमा पुजा गर्दा मनोकांक्षा पुरा हुने र रोगब्याधीले नसताउने विश्वास गर्छन् । मलाई कुनै समस्या भयो भने म जाल्पादेवीको मन्दिरमा आएर पुजा गर्छु र यो मन्दिरमा पुजा गरेपछि मेरो हरेक समस्या समाधान भएको छ – लिलाबहादुरले भने ।

जल्पादेवी मन्दिरको स्थापना बिसं १७४० मा भएको पुजारी चन्द्रबहादुर श्रेष्ठले बताए । मन्दिर स्थापनाको पनि रमाईलो किम्बदन्ति रहेको छ । किम्वदन्ति अनुसार उदयपुर गढीबाट भोटमा लडाईगर्न हिडेका सैनीकले मन्दिर भएको ठाँउमा युवती नाचेको देखे, ती युवती देवीहुन भन्ने चिनेपछि उनीहरुले लडाई जितेर फर्किए मन्दिर स्थापना गरिदिने भन्दै आर्शिवाद लिएर भोटतर्फ लागे र भोटसंग लडाई जितेर फर्किएपछि उनीहरुलेनै जाल्पादेवी मन्दिरको स्थापना गरिदिए ।

जल्पादेवी मन्दिरमा हरेक हप्ताको शनिवार र मङ्गलवार पाठी र परेवाको बली पुजा हुने गरेको छ । मनमा चिताएका सबै कुरा पुरा हुने जनविश्वासकै कारण मन्दिरमा पुजा र दर्शनको लागि टाढाटाढाबाट समेत भक्तजनहरु आउने गरेको पुजारी श्रेष्ठले बताए । जल्पादेवी मन्दिरमा एकादशी र औसीमा भने पुजा नचल्ने पुजारी श्रेष्ठको भनाई छ ।

रामेछापको सिम्ले ज्यामीरेबाट पुजाको लागि जाल्पादेवी पुगेका सेते तमाङ जाल्पादेवीसंग टाढा टाढाका मानिसहरुको समेत विशेष भावना र विश्वास रहेको बताउछन् । त्यहि विश्वासकै कारण आफु चार घण्टा पैदल हिडेर मन्दिरमा आएको सेतेले बताए ।
जाल्पादेवी मन्दिरमा धन्यपूर्णे र चण्डीपुर्णेमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरमा बली पुजा गर्न र दर्शन गर्न हरेक हप्ताको शनिवार र मङ्गलवार दुई सय भन्दा बढी भक्तजनहरु आउने गरेको पुजारी श्रेष्ठको भनाई छ ।

पुरातात्विक महत्वको जाल्पादेवी मन्दिरमा धार्मिक पर्यटक बृद्धिको लागि तामाकोसी गाँउपालिकाले मन्दिरसम्म पुग्ने बाटोको व्यवस्थापन तथा मन्दिर र आसपास पुरातात्विक महत्वका साथ नयाँ ढङ्गले पुर्ननिर्माण गर्न सहयोग गर्ने गाँउपालिका प्रमुख इश्वरचन्द्र पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्