प्रदेशका कार्यालयमा मन्त्रीको छड्के, अनुपस्थित कर्मचारीको हाजिरीमा रातो



हेटौंडा । प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बिहीबार आकस्मिकरुपमा आफ्नामातहत ४ कार्यालयको छड्के गर्नुभएको छ । अनुगमनका क्रममा केही कार्यालयमा थोरै कर्मचारी हाजिर भएको पाइएको थियो ।

मन्त्रालय अन्तर्गत् शिक्षा र स्वास्थ्य कार्यालयमा अनुगमन गरिएको हो । आमनागरिकको सबभन्दा महत्वपूर्ण सरोकारको विषय रहेको शिक्षा र स्वास्थ्यका चार कार्यालयमा मन्त्री दुलालले अनुगमन गरी कार्यालयमा अनुपस्थित कर्मचारीको हाजिरीमा रातो लगाउनुभएको थियो । मन्त्री दुलाल अनुगमनमा पुग्नेबित्तिकै हाजिरी रजिष्टर हेरेर अनुपस्थित कर्मचारीको हाजिरीमा रेजा लगाउनुभएको थियो ।
विहान सवा १० बजे प्रदेश शिक्षा निर्देशनालयमा छड्के गर्दा दुई कार्यालय सहयोगी, एक अधिकृतमात्र भेटिए ।

मन्त्री दुलालले ११ बजे नारायणी अञ्चल आयुर्वेदिक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालयको प्रदेश कार्यालयमा अनुगमन गर्दा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरबन्दीमा कर्मचारी समायोजनपछि पनि धेरै कर्मचारी हाजिर हुन नआएको पाइएको छ ।

कार्यालयका एक कर्मचारी बिनाजानकारी अनुपस्थित, एक जना जानकारी गराएर बिदामा बसेको पाइएको मन्त्री दुलालले बताउनुभयो । आयुर्वेद औषधालयमा ३ कर्मचारी बिदामा बसेको र अरु सबै कर्मचारी कार्यालयमा उपस्थित थिए । स्वास्थ्य आपूर्ति व्यबस्थापन केन्द्रमा कार्यालयका सबै कर्मचारी भेटिए ।

शिक्षा विकास निर्देशनालयमा कार्यालय प्रमुखदेखि तल्ला तहका सबैजसो कर्मचारी कार्यालय आइपुगेका थिएनन् । कार्यालयमा हाजिरी रजिष्टरअनुसार ८ कर्मचारी अनुपस्थित थिए ।  छड्के गर्दा सबै कार्यालयमा कर्मचारीलाई कार्यालय पोशाकमा आउन, अनुशासित र कार्यालय व्यबस्थित बनाउनलगायत निर्देशन दिइएको उहाँले बताउनुभयो ।

कर्मचारीलाई समयमै कार्यालय आउनुपर्ने, सेवाग्राहीका काम समयमै गर्नुपर्नेलगायत निर्देशनसहित कार्यालयका समस्या र गुनासा उहाँले सुनेर कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यालय व्यवस्थित बनाइँदै

मन्त्री दुलालले मन्त्रालयअन्तर्गत् कार्यालयलाई चालु आर्थिक वर्षको सुरुबाट नै थप व्यबस्थित बनाउन लाग्नुभएको छ । निर्देशनालय, जिल्लास्तरका कार्यालयलाई थप व्यबस्थित बनाउन लागिएको हो ।

मन्त्रालयमा विद्युतीय हाजिरी

प्रदेशको सामाजिक विकास मन्त्रालयमा विद्युतीय हाजिरी सुरु भएको छ । विद्युतीय हाजिरीले कर्मचारी आएको र गएको समय ज्ञात हुनेछ । सबभन्दा पहिले आफ्नै मन्त्रालयबाट कामलाई चुस्तदुरुस्त बनाउन र मातहत कार्यालयलाई थप व्यबस्थित बनाउन लागिएको मन्त्री दुलालले बताउनुभयो । अब केही निर्देशनालयमा विद्युतीय हाजिरी राखिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्