सीपले आत्मनिर्भर बनाउने आशा जगायो



लमजुङ । लमजुङमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्ने आशा जागृत भएको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समिति र नेपाल युवा विकास मञ्च (मेड्पा)ले सञ्चालन गरेको तालिमबाट सीप सिकेकाहरूले व्यवसायक शुरु गर्र्दै त्यस्तो बताएका हुन् ।

असाहय, गरीबीको चपेटामा परेका विपन्न महिलालाई लक्षित गरी घरेलु तथा साना उद्योग विकास समिति र नेपाल युवा विकास मञ्च (मेड्पा) र गण्डकी प्रदेश सरकारको सहयोगमा सञ्चालन गरिएको हो । प्रशिक्षार्थीहरूलाई तालिम पछि तालिमका लागि किनिएका सवै कच्चा पदार्थ, कच्चा पदार्थबाट निर्माण भएका सामग्री र मेसिनरी सामग्री दिएर व्यावसायमा लाग्न प्रोत्साहित गरेको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत मणिराम नेपालले बताउनु भयो । उहाँ अनुसार व्यवसायमा लाग्नेहरूलाई आउँदो वर्ष अझस्तरीय तालिम चाहिन्छ भने पनि हामी त्यसको प्रवन्ध गर्नेछौं ।

सोही तालिममा गुडिया बनाउने तालिम लिएकी राइनास नगरपालिका– ४ सातविसेकी ५३ वर्षिया लिला घिमिरे भन्नुधयो ‘यसअघिका दिनहरू घरधन्दामै बिते । अबचाहिँ केही गर्न सक्नु भन्ने लागेको छ, त्यसैले तालिम लिन आएकी हुँ ।’ त्यस्तै, दुई महिने तालिम लिएकी सगुन सेन हिजाका दिनमा चुलोचौकामा बसेका महिला व्यवसायिक रुपमा लाग्ने प्रण गर्दै अघि बढेको बताउनु हुन्छ । तालिम पछि गाउँघरमै हस्तकलाका सामग्री बुन्ने र बाह्य बजारबाट गाउँघरमा आउने गुडियालाई विस्थापित गर्ने योजनामा रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘जिल्लाको मागलाई स्थानीयस्तरबाटै पूर्ति गर्ने योजनामा छु ।’

उमेरले भर्खरै १७ वर्ष पुगेकी राइनास नगरपालिका– ४ सातविसेकी कुष्मा कुमाल एसइइ दिएर वसेको बेला नेपाल युवा विकास मञ्च ललितपुरले आयोजना गरेको १५ दिने मुढा बुनाई तालिमको बारेमा खबर पाई सहभागी भएको बताउनु भयो । उहाँले अहिले १५ दिने सीप सिकेर आफै मुढा बनाउन थालेको बताउनु भयो । यसैगरी, गाउँमा घाँस दाउरा गर्दै बसेकी सुजना तालिम पाउँदा नयाँ जीवन पाएको अनुभव भएको सुनाउनु हुन्छ, उहाँले भन्नुभयो, ‘म सीप सिकेर आफ्नै खुट्टामा उभिएर आत्म निर्भर बन्न चाहन्छु । उनी मात्र होइनन् राइनास नगरपालिका ४ सातविसेकै सुजना कुमाल पनि उनीसँगै १५ दिने मुढा बुन्ने तालिम सिकेर बसेकी छन् । सानैदेखिको सीप सिक्ने उनको इच्छा अहिले पुरा भएको’ उहाँको भनाई छ ।

घरेलु हिंसाबाट मुक्त हुन पनि महिलालाई सीप सिक्न आवश्यक रहेको भन्नुहुन्छ प्रशिक्षक सरिता परियार। ‘जब महिला आर्थिक रुपमा आत्मनिर्भर हुन्छन् तब घरपरिवार र श्रीमानले हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।’ उहाँले भन्नुभयो, ‘आत्म निर्भर हुनका लागि आफ्नो रुचि अनुसारको तालिम लिन जरुरी छ ।’

लमजुङको राइनास नगरपालिका– ४, सातबिसेका महिलाले आयआर्जन गर्न गाउँमै गुडिया तथा कुशन बनाउने, मुढा बुन्ने, डिजाइनका सिलाईकटाई ताथ मौरीपालन सम्बन्धी तालिम लिएका हुन् । १९ जना महिलाले २ समूह बनाएर १ महिने तालिम लिएको प्रशिक्षक सरिता परियारले जानकारी दिनु भयो । ११ जना महिलाले १५ दिने मुढा बनाउने तालिम लिएका छन् । २३ जना महिलाले २ समूह बनाएर २ महिने फेसन डिजाइन व्यवसायिक सीपमूलक तालिम लिएका छन् ।

यस्तै, १० जना महिलाले एक हप्ते मौरीपालन तालिम लिएको नेपाल युवा विकास मञ्च (मेड्पा) का उपाध्यक्ष राम खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्