अझै सकिएन गोरखाको पुननिर्माण, ७५ प्रतिशत मात्रै घर बने



गोरखा । गोरखा जिल्लाको नीजि आवास पुननिर्माणको काम अझै सकिएको छैन । २०७२ बैशाख १२ मा गोरखाकै बारपाकलाई केन्द्र विन्दु बनाएर गएको विनाशकारी भूकम्पले ७० हजार घर ध्वस्त पारेको थियो । हाल सम्म जिल्लामा करिव ७५ प्रतिशत मात्र नीजि आवास पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

कुल लाभग्राही मध्ये ५३ हजार १२० जनाले अनुदान रकमको तेस्रो किस्ता लगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । पुननिर्माण र प्रवलिकरण तर्फ गरी हाल सम्म लाभग्राहीको संख्या ७१ हजार १६२ रहेको इकाइ प्रमुख रामशरण आचार्यले जानकारी दिनु भयो ।

जसमध्य ६५ हजार ८०९ जना पुननिर्माण र ५ हजार ३५३ प्रवलिकरण तर्फ रहेका छन् । लाभग्राही मध्य पुननिर्माण तर्फ ६३ हजार ५ सय र प्रवलिकरण तर्फ एक हजार ८१७ जनासँग सम्झौता भइसकेको आचार्यले बताउनु भयो ।

‘पुननिर्माण तर्फ ५९ हजार ३९६ जनाले दोस्रो किस्ता लगिसक्नुभएको छ,’ उहाँले भन्नु भयो, ‘प्रवलिकरण तर्फ दोस्रो किस्ता लाने ५२ जना मात्र हुनुहुन्छ ।’ ५३ हजार ८७ जना लाभग्राहीले पुननिर्माण तर्फ अनुदानको तेस्रो किस्ता पाएका छन् । प्रवलिकरण तर्फ तेस्रो किस्ता लिनेको संख्या ३३ रहेको इकाइको तथ्याङ्कमा उल्लेख छ ।

‘प्रवलिकरण वाहेकको तथ्याङ्क हेर्ने हो भने नीजि आवास पुननिर्माणको सम्पन्न भएको प्रतिशत करिव ८५ हो तर प्रवलिकरणको संख्यालाइ पनि जोड्ने हो भने करिव ७५ प्रतिशत हुन्छ,’ उहाँले भन्नु भयो ।

कुल लाभग्राही मध्य ५ हजार ८४५ जना भूकम्पपीडितले अनुदान रकमको सम्झौता गरेका छैनन् । सरकारले सम्झौताका लागी यही असार २१ गतेसम्म समयसिमा तोकेको थियो । तर उनीहरु सम्झौता गर्न नआएको प्राधिकरणले जनाएको छ । ‘स्थानीय निकायबाट सम्झौता भएर आएका लाभग्राहीहरुको निकासा असार मसान्त सम्म निरन्तर चलिरहन्छ, त्यसैले यो संख्या घट्ने क्रममा छ,’ आचार्यले भन्नुभयो ।
पहिलो किस्ता लिएर दोस्रो किस्ता लिन नआउने लाभग्राहीको संख्या ५ हजार ८६९ रहेको उहाँको भनाई छ । ‘उहाहरुको खातामा पहिलो किस्ताको रकम गइसक्यो तर ६ सय ७० जनाले अझै पनि पहिलो किस्ताको रकम नलिएको भन्ने जानकारी आएको छ,’ उहाँले भन्नु भयो ।

पिडित भनेर सरकारी अनुदानको किस्ता बुझेका झण्डै २ सय जनाले रकम फिर्ता गरे । एक सय ७२ जनाले अनुदान रकम फिर्ता गरिसकेको पुननिर्माण प्राधिकरणले जनाएको छ । पहिलो किस्ता लिनेमध्य २१ जनाले स्वच्छिक रकम फिर्ता गरेको प्राधिकरणले जनाएको छ । त्यस्तै दोहोरो भुक्तानी लिने एक सय ४० जनाले पनि रकम फिर्ता गरेका छन् ।

‘पहिलो किस्ता लिने १३९ र दोस्रो किस्ता लिने १ जनाले दोहोरो भुक्तानी लिनुभएकाले रकम फिर्ता गर्नुभएको हो,’ आचार्यले भन्नुभयो । अन्य ११ जनाले पनि रकम फिर्ता गरेको प्राधिकरणले जनाएको छ ।

‘दोहोर भुक्तानी फिर्ता गर्न भनेर ४० जनालाइ पत्राचार गरेका छौ अहिले प्रक्रियामै छ,’ उहाँले जानकारी दिनु भयो । कुल ९२ लाख ५० हजार अनुदान रकम फिर्ता भइसकेको छ । त्यस्तै २१ लाख फिर्ता गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्