श्रीदेवीको हत्या भएको दाबी



ख्यातिप्राप्त बलिउड नायिका श्रीदेवीको हत्या भएको दाबी गरिएको छ। केरला प्रहरी महानिर्देशक ऋषिराज सिंहले यस्तो दाबी गरेको लाइभ हिन्दुस्तानले जनाएको छ।

लाइभ हिन्दुस्तानका अनुसार उनले श्रीदेवीको मृत्यु बाथटबमा डुबेर नभई उनको हत्या भएको दाबी गरेका छन्। गत वर्ष २४ फेब्रुअरीमा दुबईको एउटा होटलमा निधन भएकी श्रीदेवीको बारेमा उनले केरलाकै एक पत्रिकामा कोलम लेख्दै यस्तो जनाएपछि फेरि श्रीदेवीको मृत्युको रहस्यबारे मानिसहरूको ध्यान केन्द्रित भएको छ।

सिंहले आफ्ना साथी फरेन्सिक सर्जन डा. उमादथनले श्रीदेवीको हत्या भएको बताएको उल्लेख गरेका छन्। डा. उमादथनको पनि केही समय अगाडि निधन भइसकेको छ। उनका अनुसार उमादथन जीवित हुँदा यस बारेमा आफ्नो धारणा राख्दै भनेका थिए– ‘मानिस जतिसुकै नशामा भए पनि एक फिट पानीमा डुबेर मर्न सक्दैन। ऊ त्यति बेला मात्र डुब्छ, जब कसैले उसको दुवै खुट्टा समाएर उसको शिर पानीमा डुबाउँछ।’

श्रीदेवीका पति बोनी कपुरले यस विषयमा आफ्नो धारणा व्यक्त गर्दै त्यस्ता बकबास कुराको विषयमा कुनै जवाफ नदिने बताएका छन्। उनले यसबारे कुनै प्रतिक्रिया नभएको र मनगढन्ते कुरालाई कसैले रोक्न नसक्ने पनि बताएका छन्। पोस्टमार्टमको रिपोर्टअनुसार मादक पदार्थ सेवन गरेकी श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको भनिएको थियो।

प्रतिक्रिया दिनुहोस्