जलदेवता रिसाए



पानीको बबन्डर कम्ताको भएन अहिले । राजधानी काठमाण्डौं नै जलमग्न हुँदै जनधनको क्षतिको प्रत्यक्षदर्शी बन्नपुग्यो । मधेशमा पनि बाढीले धेरैको बिल्लीबाठ बनाएको छ । पानी परेपछि मधेस त्रसित हुन्छ । होचो जमिनमा पानीले दिनु दुःख दिन्छ । घर ढुवाउँछ र मानिसलाई रुवाउँछ । यो नियतिबाट अभिषप्त हामी समस्याबाट मुक्ति खोज्ने जमर्को बेलैमा गर्दैनौँ । जब बर्खा लाग्छ, तब मात्र बाढीको विषयमा चर्चा हुन्छ । ढुवान समस्याबारे वर्षको एकपटक मात्र कुरा हुन्छ ।

हिँउदमै यो विषयबारे चर्चा गर्न कोही चाहँदैन । राज्य मौन बस्छ र बर्खामा नागरिकको दुःखमा मलहम लगाएको नाटक गर्छ । अर्कोतर्फ, राजधानीलगायतका शहरहरु अहिले असुरक्षित हुन थालेका छन् । कंक्रिटको जंगल बनेको सहरमा पानी सोस्ने ठाउँ नै बाँकी छैन । नदी र खोलाहरु अतिक्रमित भएका छन् । पानीले आफ्नो बाटो आफै बनाउँछ । पानीलाई बग्ने ठाउँ नै नदिएपछि के हुन्छ ? राजधानीले देखाएको छ । जमिनले पानी नै नसोसेपछि के हुँदो रहेछ ? त्यो पनि राजधानीले नै प्रस्ट पारेको छ ।

प्राकृतिक स्रोतको दोहन गर्दा पर्यावरणीय पक्षलाई ख्याल नगर्दा आएको अवस्था हो यो । हामीले नदीलाई टेरेनौँ, खोलालाई नटेरेर अतिक्रमण ग¥यौँँ । र, मानवीय र भौतिक क्षति पाइयो । यो तीतो सत्यलाई अब पनि नबुझ्ने हो भने भावी पुस्ताले अझ चर्को मूल्य चुकाउनुपर्छ । प्रकृतिको दोहनले निम्त्याएको विपत्ति प्रकृतिको पूजा र संरक्षणले मात्रै सम्भव हुन्छ भन्नेबारे राज्यले पनि ध्यान दिनुपर्छ ।
– मनोज सुवेदी, पाल्पा, हाल ः काठमाडौं ।

नगदे बालीको मार्ग पहिल्याऊ
बागलुङको जैमिनी नगरपालिकाले ४ वटा वडालाई अलैँची ब्लक घोषणा गरेको छ । अलैँची उत्पादन हुँदै आएका दमके र सम्भावना भएका पैयुँथन्थाप तथा राङखानीमा अलैँची विस्तार गर्ने गाउँपालिकाको योजना छ । नेपाल सरकारको नीतिमा टेकेर अलैँची क्षेत्र घोषणा गर्न ५ सय हेक्टर जमिन चाहिन्छ । ५ सय हेक्टर जमिन पु¥याउन गाउँपालिकाले अन्य ठाउँमा पनि खेती विस्तारको योजना बनाएको छ ।

अलैँची नगदे बाली हो । गाउँघरमा रहर र घरायसी प्रयोजनको लागि रोपिँदै आएको अलैँचीको व्यावसायिक खेती गर्ने जमर्को सराहनीय मात्रै हैन, अनुकरणीय पनि छ । उचित हावापानी भएको क्षेत्रमा नगदे बाली लगाउँदा किसानको जीवनस्तर बढ्नुका साथै गाउँमा नगद भित्र्याउने अभियानमा पनि मद्दत पुग्छ । गाउँपालिकाहरुले अर्थहीन र बजेट सक्ने योजनाहरु कार्यान्वयनमा ल्याए भन्ने आलोचना भइरहेको बेला थालिएको यो अभियानको सफलता अरु गाउँपालिकाहरुको लागि प्रेरणा बन्न सक्छ ।

नेपालका पूर्वी जिल्लाहरुमा धानखेत मासेर अलैँची लगाउने लहर चल्यो । बजारमा अलैँचीको मूल्य पनि राम्रै थियो । २३ सय रुपियाँ किलोग्राम मूल्यमा अलैँची बेच्दा किसानहरु खुशी थिए । अलैँचीको ठूलो बजार भारत नै थियो । भारतीयहरु इलामलगायतका जिल्लामा आएर बारीबाटै अलैँची खरिद गर्थे । तर, दिन सधैँ उस्तै रहेनन् । नेपालको अलैँची निर्यातमा अवरोध सिर्जना गरियो । गुणस्तर र विषादी प्रयोग भएको कारण देखाएर क्वारेन्टाइनमा अलैँची रोक्न थालियो । किसानले मूल्य पाउन छाडे । अलैँचीमा लगानी गरेका किसानहरुको बिल्लीबाठ हुने अवस्था आयो । यो समस्याको निराकरण हुन सकेको छैन ।

समस्या अलैँचीमा मात्रै होइन, नेपालको कफी र चियादेखि अदुवासम्म पनि देखिएको छ । मित्रराष्ट्रको रुबैयाका कारण किसानहरुको सपना तुहिएका हामीसँग प्रशस्त उदाहरण छन् । ठूलो अलैँचीको बजार देखेजस्तै कफी र चियामा गरिएको लगानीमा पनि अवरोध आउँदा किसानहरु रोपेका कफीका बिरुवा काट्ने अवस्थामा पुगे । अलैँची रोपेको बारी बाँझो रह्यो । किसान ऋणमा जकडिए । पूर्वी नेपालको सिको गर्दै लमजुङजस्ता पहाडी जिल्लामा आइपुगेको अलैँची र कफी खेती फस्टाउन सकेन ।

यो दुर्भाग्यपूर्ण अवस्थाको निराकरण गर्न सरकारले तत्परता देखाएन । तर, हरेक बादलमा चाँदीको घेरा हुन्छ । समस्याले नै सम्भावनाको बाटो देखाउँछ । अहिले अलैँची र कफीजस्ता नगदे बालीको नेपालमै पनि राम्रो बजार विस्तार हुँदै गएको छ । नेपाली बजारमा विदेशबाट कफी र अलैँची आयाता भएको छ । आयातलाई विस्थापन गर्दै कृषिमा आधुनिकता भित्र्याएर नेपालले लाभ लिन सक्ने प्रशस्त सम्भावना देखिएको छ ।

अहिले जैमिनीले त्यही सम्भावनाको खोजी थालेको हो । अब कृषिका हरेक क्षेत्रमा हामीले सम्भावना खोज्नुपरेको छ । आत्मनिर्भर भएपछि बाहिरी बजार खोज्न सकिन्छ । नेपालको कफी र चिया युरोपेली मुलुक पनि पुगेको छ । अलैँचीमा पनि हामीले बजार खोज्न सक्छौँ । यसको लागि सरकारले पहलकदमी भने लिनुपर्छ । किसानलाई उत्पादनमा होमेपछि बजारको सुनिश्चिततामा ध्यान दिनुपर्छ । कृषिमा अनुदान दिँदै बजारीकरणमा सघाउनुपर्छ । सम्भावनाका नूतन बाटोहरु अवलम्बन गर्नुपर्छ । हुँदैन र छैन भन्ने शब्दावलीलाई अब छाड्नुपर्छ । कृषिलाई व्यवसायीकरण गर्नै पर्छ । नगदे बालीबाट लाभ लिने मार्ग समात्नै पर्छ ।
– अश्मिता नेपाली, गुल्मी ।

राहत वितरणमा ढिलाइ नहोस्
अविरल वर्षाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तराई क्षेत्रमा बाढीले र पहाडमा पहिरोका कारण झन्डै ६ दर्जन बढीको ज्यान गइसकेको छ । प्राकृतिक प्रकोपले निम्त्याएको महाविपत्तिको सामना सबै नेपालीले एकजुट भएर गरिरहेका छन् । उद्धार, राहत र उपचारमा एक–आपसमा सहयोग हुँदै आएको छ । बाढी, पहिरो प्रभावित क्षेत्रमा राज्यका विभिन्न संयन्त्रहरु परिचालन भएका छन् ।

यस क्रममा थुप्रैको उद्धार पनि भएको छ । सरकारले प्रभावित क्षेत्रका नागरिकलाई पुनर्वास, राहत र उपचारका लागि प्राथमिकता दिने पनि बताइरहेको छ । अविरल वर्षाका कारण पीडित भएकाहरुको उचित व्यवस्था तत्काल गर्न सरकारले कदम चाल्ने बताएको छ । सर्वप्रथम त तत्कालका लागि भने राज्यका संयन्त्र प्रयोग गरी उद्धारमा खटिन जरुरी छ । त्यसै गरी, प्रभावित क्षेत्रमा राहतको व्यवस्था गर्न र उपचारलाई विशेष प्राथमिकता दिन आवश्यक छ ।

बाढी तथा डुबानबाट पीडित भएकाहरुले पानीको सतह घटेसँगै केही राहत महसुस गर्न थालेको अवस्थामा सरकारले उनीहरुलाई उचित राहत वितरण गर्न ढिलाइ गर्नुहुँदैन । त्यसै गरी, पुनर्वासको कुरामा पनि सरकार गम्भीर हुन जरुरी छ । त्यस्तै, विपत्तिको यो अवस्थामा सबैजना एकजुट भएर सामना गर्नुपर्छ । अतः उद्धार, उपचार र राहत वितरणमा सम्बन्धित संयन्त्रहरु क्रियाशील भएर लाग्न आवश्यक छ ।
– सुधीर न्यौपाने, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्