नेकपामा प्रमुख बन्न कुदाकुद



मधुसूदन रायमाझी, काठमाडौं ।
पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो । यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ ।

पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वाधिक चर्चामा छ । संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आउनुभएको छ । पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिनुभएको छ ।

संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहनुभएको छ । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।

महाधिवेशनअघि पार्टी संगठनमा पकड जमाउन संगठन विभाग प्रमुखको भूमिका निर्णायक हुने भएकाले पनि अध्यक्षद्वयले नै संगठन विभागको प्रमुखमा आफू निकटका नेताहरुलाई ल्याउने गृहकार्य नेकपाभित्र सुरु भएको छ ।

पार्टीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधव नेपाल रहने सहमति भएको बताइएको छ भने अध्यक्ष विभागको प्रमुखमा भागवण्डा अनुसार दुवै अध्यक्षले व्यक्तिको नाम टुंगो लगाउने गृहकार्यमा रहनुभएको छ ।

नेकपाका ३२ वटा विभागमध्ये १८ वटामा पूर्वएमाले र १४ वटामा पूर्वमाओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति जुटेको थियो । संगठन र विदेशमा एमाले तथा अर्थ र प्रचारमा माओवादीले प्रमुख लिने सहमति भएको छ । ३५ जना सदस्य रहने हरेक विभागमा २० जना पूर्वएमाले र १५ जना पूर्वमाओवादीबाट रहने सहमति अध्यक्ष द्धयबीच भएको छ ।

संगठन विभागको प्रमुख नपाएको अवस्थामा सचिवालय सदस्य ईश्वर पोखरेले स्कुल विभागको प्रमुख पाउनुपर्ने लविङमा रहनुभएको स्रोतको दावी छ ।
सहमतिअनुसार जिल्ला इन्चार्ज पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ लिन भागबण्डा भएको छ ।

पार्टी एकीकरण भएको चौध महिनापछि नेकपाले संगठन विभागको प्रमुखको टुंगो लगाउन लागेको हो । नेकपाको आगामी साउन ५ गते बस्ने बैठकले संगठन विभागको प्रमुखहरु र ७७ वटा जिल्लाको इन्चार्ज र सह–इन्चार्जको नामावली घोषणा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्