१ सय २२ थान हातहतियार संकलन



बैतडी, (नेस)
बैतडी प्रहरीले चार महिनाको अवधिमा १ सय २२ थान हातहतियार संकलन गरेको छ । गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा उक्त हातहतियार संकलन गरिएको हो ।

संकलित हतियारमध्ये १ सय १८ थान एकनाले भरुवा बन्दुक र ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । संकलित हतियार सबै इजाजतप्राप्त रहेका उहाँले बताउनुभयो । हतियार संकलनपश्चात् भने हत्या–हिंसाका घटनामा कमी आउने साथै वन्यजन्तुको चोरी–सिकारीका घटनासमेत न्यूनीकरण हुने विश्वास गरिएको छ ।
अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध अवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयोे ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो । यसका साथै गत फागुन २८ को मन्त्रिपरिषदको बैठकले विप्लवको समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी उसका गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्