कात्तिकमा माछा माछा



सौगात मल्ल स्टारर फिल्म माछा माछा आगामी कात्तिक २९ गते अल नेपाल रिलिज हुने भएको छ। ३ जना गाउँले युवकले शहरीया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा निर्मित फिल्ममा सौगातसँगै विजय बराल र अनोज पाण्डेको केन्द्रीय भँमिका छ।

निर्माण पक्षले मंगलबार सिनेमाको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेको हो। सुनील गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा सौगात, विजय र अनोजको समँह तथा माओत्से गुरुङको समँह छुट्टिएको छ। माओत्सेको समूहले समातेको क्रिकेटको ब्याट, बल र स्टम्प दर्शकमा कौतुहलता सिर्जना गर्छ। पोस्टरमा अभिनेतृ नम्रता श्रेष्ठलाई पनि प्रस्तुत गरिएको छ।


सिनेमा आर्ट र नौमति इन्टरटेनमेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण, ओमचन्द्र रौनियार र अर्जुन कार्की सहनिर्माता रहेको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्। प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धु्रव कोइराला, वसन्त भट्टलगायतका कलाकारले समेत अभिनय गरेको फिल्ममा निर्देशक गुरुङको लेखन, अनुपम शर्माको संगीत, शिवराम श्रेष्ठको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्