नन्दमाया सम्मानित



लमजुुङ, (नेस)। लमजुुङकी गायिका नन्दमाया दुरालाई ठाडो भाका साम्राज्ञीको उपाधिसहित सम्मान गरिएको छ। ठाडो भाका लोककला प्रतिष्ठान नेपालको बेंसीशहरमा सम्पन्न दोस्रो अधिवेशनको शुभारम्भ कार्यक्रममा दुरालाई उक्त उपाधिसहित सम्मान गरिएको हो।

दुरालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’, विशेष अतिथि प्रतिष्ठानका सल्लाहकार एवं पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, पुरस्कारका संस्थापक नरेन्द्र ढुंगाना र प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले संयुक्तरूपमा सम्मान प्रदान गरे। दुरालाई ५ हजार ५ रुपियाँद्वारा सम्मान गरिएको हो। ६८ वर्षीय दुराले १२ वर्षको उमेरदेखि आजका दिनसम्म अविरलरूपमा ठाडो भाका गाउँदै आएकी छिन्। पछिल्ला दिनमा उनको दाँत झरेका छन् र स्वरमा केही कमी आएको छ। उनले मौलिक र अलौकिक शब्दहरूको संयोजन गर्दै कर्णप्रिय गलाका साथ गायन प्रस्तुत गर्दै आएकी छिन्।

कार्यक्रममा ठाडो भाकाका अभियन्ता बुद्धिमान दुरा ‘धम्पु’ ले उक्त संस्थाको उद्देश्य प्राप्ति एवं दीर्घकालीन कार्यक्रम सञ्चालनका लागि प्रतिष्ठानको अक्षयकोषलाई एक लाख एक रुपियाँको चेक प्रतिष्ठानका अध्यक्ष पहाडीलाई हस्तान्तरण गरे। यसअघि प्रतिष्ठानको अक्षयकोषमा कुल ८० हजार रुपियाँ रहेको प्रतिष्ठानका कोषाध्यक्ष अमृता असिमले बताए। कार्यक्रममा प्रतिष्ठानको संस्थागत विकासमा योगदान पु¥याएबापत नरेन्द्र ढुंगानालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमलाई ठाडो भाका साम्राज्ञी नन्दमाया दुरा र ठाडो भाकाका अभियन्ता बुद्धिमान दुरा ‘धम्पु’ ले ठाडो भाका प्रस्तुति गरेर थप रोचक बनाएका थिए। प्रतिष्ठानको अध्यक्षमा पुनः नवराज पहाडी चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्